×

वीरगञ्ज १३ भदौ । रौतहटका एक ३० वर्षीय पुरुषको कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु वीरगञ्जमा भएको छ ।

नारायणी अस्पताल मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा रौतहट घमरिया -३ का ३० वर्षीय युवकको शनिबार साँझ मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई भदौं ११ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गर्दा उनमा कोभिडको लक्षण देखिएका कारण उनको स्वाब सङ्कलन गरेर कोरोना परिक्षणका लागी अस्पतालमै रहेको पिसिआर प्रयोशालमा पठाइएको थियो ।

अर्को दिन उनको रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखिएपछि उनलाई सोहिदिन साँझ वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

हेल्थ केयरको आइसीयु कक्षमा राखेर उपचारको गर्ने क्रममा उनको आज साढे ७ बजे मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या बाहेक उनमा कुनै दिर्घ रोग नभएको डा. चौरसियाले बताए । कुनै दिर्घ रोग नभएपनि मृतकमा निमोनिया जस्तो लक्षण देखिएको उनले बताए ।

योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको सङ्ख्या ४९ पुगेको छ । जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३५ जना, बाराका १० जना र रौतहटका ३ जना रहेका छन् ।

Back to top