×

वीरगञ्ज १२ भदौं । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्यु चरम यातनाका कारण भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । पोेष्टमार्टममा संलग्न चिकित्सकका अनुसार विजयरामको मृत्यु यातनाका कारण भएको जानकारी दिएको दलीत अधिकारकर्मी मनोज रामले दिए ।

विजयरामको ढाडमा रडद्वारा हानिएको र त्यसको असर मृगौलामा समेत परेकोले मृत्यु भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

विजयको पािर्थव शरिर पोष्टमार्टमकालागि हिजो राती त्रिबि शिक्षण अस्पताल काठमाडौँ लगिएको थियो । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमा विजयको उपचारको क्रममा भदौं १० गते राती १२ बजे मृत्यु भएको थियो । त्यसपछि पोष्टमार्टम गर्न कालागि विजयको शव वीरगञ्जको नारायणी अस्पतालमा लगिएको थियो ।

विजयका आफन्त एवम् दलीत अधिकारकर्मीले रामको पोष्टमार्टम त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा हुनुपर्ने अडान लिएपछि स्थानीय प्रशासनले शवलाई उनीहरुको सहभागितामा काठमाडौँ पठाएको हो ।

घटनामा राष्ट्रिय मानव अधिकार आयोगले समेत अनुसन्धान सुरु गरेको छ । विजय प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिएका छन् ।

आयोगले विजयको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिसकेको छ ।

विजयराम चमार रौतहटको गरुडा नगरपालिका– ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ पर्नु भएको थियो । हिरासतभित्रै विरामी परेका उनको उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यसअघि पनि प्रदेश २ को धनुषामा प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पताल जनकपुरधाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभुवन रामको हत्या, सिरहामा रोशन रामको हत्यालगायत मधेसमा दलित समुदायमाथि श्रृङ्खलाबद्ध रूपमा हत्या, हिंसा तथा जातीय विभेदका घटनाहरू भइरहेको आयोगले जनाएको छ ।

Back to top