वीरगञ्ज १२ भदौं । पीसी मिडिया नेटवर्क प्रालीद्वारा सञ्चालित रेडियो सान्भी ९६.४ मेगाहर्जका महाप्रबन्धक नवराज फुयाल कोरोनामुक्त भएका छन् ।
विगत ११ दिनदेखि कोरोनाभाइरस (कोभिड-१९) बाट सङ्क्रमित भइ उपचाररत रहेका फुयाल शुक्रबार सङ्क्रमणमुक्त भएका हुन् । दुई दिन पहिला दोस्रो पटक जम्मा गराएको स्वाबलाई नारायणी अस्पतालमा परिक्षण गर्दा उनको नतिजा नेगेटिभ आएको हो ।
कोरोना महामारीले निम्त्याएको सङ्कटको समयमापनि जनतालाई सु-सूचित गर्न निरन्तर रेडियो मार्फत आफ्नो कर्तव्य वहन गरिरहने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनले आफ्नो पिसिआर परिक्षण गराएका थिए । भदौं २ गते परिक्षणको रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको फुयालले बताए ।
केहिदिन होम आइसोलेसनमै बसेका फुयलालाई पछि नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा सिफ्ट गरिएको थियो ।
रोग प्रतिरोधात्मक शक्ति बढाउँने पौष्टिक खाने कुरा र नियमित व्ययामले कोरोनालाई पराजित गर्न सफल भएको फुयालले बताए । उनले उच्च मनोबल र साथीभाईहरुको मायाले सङ्क्रमणसँग लड्न थप सहयोग पुर्याएको जिकिर गरे ।
साझा डेली डटकममा सम्पादक समेत रहेका फुयाललाई आज डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । उनलाई चिकित्सकले डिस्चार्ज भएपनि केहि दिन घरमै रहेर स्वास्थ्य लाभ लिन सल्लहा दिएका छन् ।
फुयालको कन्ट्याक्ट ट्रेसिङमा परेर रेडियोमा कार्यरत थप दुई कर्मचारी सङ्क्रमित भएका थिए । रेडियोका कार्यक्रम संयोजक हेमन्त तामाङ र प्राविधिक अनुप यादव सङ्क्रमित भइ अहिलेपनि होम आइसोलेसनमा उपचाररत छन् ।