वीरगञ्ज ११ भदौं । धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपूरस्थित प्राथमिक स्वास्थ केन्द्रमा ३ बर्षपछि नियमित विद्युत आपूर्ति सुरु भएको छ ।
विगत ३ वर्षदेखि बिग्रिएको ट्रान्सफरमर परिवर्तन नहुँदा विद्युत आपूर्ति बन्द भएको थियो । विद्युत नहुँदा स्वास्थ्य केन्द्रबाट आवश्यक सेवा प्राप्तिबाट सेवाग्राही बञ्चित हुँदै आएका थिए । केन्द्रबाट प्रवाह हुने रगत, पिसाव, स्वाब चेजजाँच र एक्सरे जस्ता महत्वपूर्ण सेवाहरु ठप्प थिए ।
नकेपाका स्थानीय युवा नेता सन्तोष पटेलको विशेष पहलमा बिहिबार नियमित विद्युत आपूर्तिका लागि ट्रान्सफरमर मर्मत गरिने काम भएको छ । पटेलले गाउँपालिकाको सहयोगमा ट्रान्सफरमरलाई हेटौडास्थित निक कम्पनिमा लगेर मर्मत गराएका थिए ।
गाउँपालिकाको आर्थिक सहयोगबाट मर्मत भएको ट्रान्सफरमर आज जडान गरिएको छ । जडान पश्चात विगत ३ वर्षदेखि बन्द रहेका सेवाहरु पुन: सुरु हुने भएका छन् । गाउँमै सेवाहरु सुचारु हुँदा सदरमुकाम वीरगञ्ज जाने समस्याबाट छुटकारा पाएको भन्दै स्थानीय हर्षित छन् ।
ट्रान्सफरमर मर्मतका लागि युवा नेता पटेलले देखाएको सक्रियताका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियार र प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज डा. नवनित रौनियारले उनप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो गाउँको समस्या समाधानका लागि हरेक युवाले पटेलबाट प्रेरणा लिनुपर्ने समेत बताए ।