वीरगञ्ज ११ भदौं । वीरगञ्जमा निषेधाज्ञाको उलंघन गर्दै व्यवशायी पसल सञ्चालन गरेका छन् । विगत एक महिना भन्दा बढी समयदेखि शहर मा लगाइएको निषेधाज्ञाका कारण व्यपार व्यवसाय चौपट भएको बताउँदै आदर्शनगर क्षेत्रका व्यवसायीहरुले बिहिबार पसल खोलेका हुन् ।
वीरगञ्जमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले साउन १० गतेदेखि निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाले गर्दा व्यापार व्यवसाय पूर्ण रुपले बन्द हुँदा हातमुख जोड्नसमेत समस्या परेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले कोरोनाले भन्दापनि भोक र चिन्ताले मार्ने जोखिम बढी भएको भन्दै पसल सञ्चालन गरेको बताए ।
वीरगञ्जको घण्टाघरदेखि आदर्शनगरसम्म मेनरोडमा रहेका पसलहरु सञ्चालन गरिएको हो । निषेधाज्ञा भएपनि कर, बैंकको ब्याज, बिजुली महशुल, घर भाडा लगायतका शुल्क तिर्नै पर्ने भएका कारण पसल व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको व्यवसायीहरुको भनाई छ ।
'सरकारले कर मिनाहा गर्दैन, बैंकले ब्याजमा सहुलियत दिँदैन । अनि पसल बन्द गरेर कहाँबाट तिर्ने त ?', आदर्शनगरका एक व्यवसायी भन्छन्, 'दैनिकी चलाउन पनि नसकिने अवस्था आईसक्यो ।'