×

वीरगञ्ज १० भदौं । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र नागरिक सरोकार समाज वीरगञ्ज बीच भर्चुवल छलफल सम्पन्न भएको छ ।

बुधबार मिट एप मार्फत भएको भर्चुवल छलफलमा कोरोना महामारीलाई पराजित गर्न सबै मिलेर अगाडी बढ्नुको विकल्प नरहेको नागरिक सरोकार समाजका अगुवाहरुले बताएका थिए । उनीहरुले अहिले संकटको अवस्थामा पनि राजनीतिक द्वेष र व्यक्तिगत रिसिवि भन्दा माथि उठेर सम्पूर्ण जिल्लावासीको हितका बारेमा सोच्न आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

वक्ताहरुले कर्मचारी व्यवस्थानदेखि मृतक सङ्क्रमितहरुको शव व्यवस्थापनमा देखिएको समस्याका बारेमा समेत नगरप्रमुख सरावगीलाई जानकारी गराएका थिए । उनीहरुले निषेधाज्ञाको मोडालिटीलाई परिवर्तन गर्दै बजारलाई क्रमस आवश्यकताको आधारमा खुकुलो बनाउँदै जानुपर्ने सल्लहा समेत दिएका थिए ।

त्यसैगरी छलफलमा खुल्ला सिमानाबाट अहिलेपनि आवत जावतको क्रम नरोकिएको विषयलाई सबैले गम्भीरताका साथ् उठाउँनका साथ् समस्यालाई जराबाट समाधान गर्न सबै स्थानीय प्रशासन, जिल्लाका सम्पूर्ण स्थानीय तह र अन्य सरोकारवाला निकायलाई एउटा साझा मञ्च निर्माण गरेर काम बाँडफाँड गर्न सुझाए दिएका थिए । छलफलको सुरुवातमा नागरिक सरोकार समाजले हालसम्म गरेको गतिविधिका बारेमा लेखक एवम् उद्योगी गणेश लाठले प्रकाश पारेका थिए ।

छलफलको क्रममा प्लाज्मा थेरापीबाट वीरगञ्जमा पनि छिटो भन्दा छिटो कोरोना सङ्क्रमितहरु उपचार सुरु गराउँने पहल गर्न नगरप्रमुख सरावागुलाई अनुरोध गरेका थिए ।

जिल्लाका प्रतिष्ठित राजनीतिज्ञ, व्यातित्व, व्यवसायी, उद्योगी, सामाजिक अभियन्ता र सञ्चारकर्मीलगायत सहभागी रहेको छलफल वीरगञ्जका नगरप्रमुख सरावगीले आफु सङ्क्रमित भएको समयमा पनि जिल्लामा भइरहेको सम्पूर्ण गतिबिधिहरुका बारेमा आफु जानकारी लिएरहेको बताएका थिए । उनले आफ्नो अनुपस्थितिमा कोरोनाभाइरस महामारीका कारण जिल्ला र विशेषगरी वीरगञ्जमा उत्पन्न समस्याहरुको समधानका लागि विभिन्न कदम चाल्ने योजनाहरु रहेको जानकारी दिए ।

सरावगीले सर्वप्रथम एक घर एक पिसिआर अभियान पुन: सञ्चालन गरिने बताए । उनले पिसिआर परिक्षणको दायरा बढाउँनका साथै आइसोलेशन सेन्टरहरु थपिने योजना समेत बनाएको जानकारी दिए ।

'हाम्रो अहिलेपनि पहिलो प्राथमिकता एक घर एक पिसिआर परिक्षण रहेको छ, त्यसपछि हामीले बढी भन्दा बढी आइसोलेशन सेन्टरहरुको व्यवस्थापन तर्फ लागेका छौं र त्यसका लागि आवश्यक कार्य पनि भइरहेको छ,' नगरप्रमुख सरावगीले भने, 'अहिले हामीले आशाराम अस्पतालमा ६० शय्याको र बाबा होटलमा २ सय शय्याको आइसोलेशन सेन्टर थप्दै छौँ । त्यसपछि विभिन्न निजि विद्यालय र कलेजहरुसँग समेत आइसोलेशन स्थापनाका लागि हामीले छलफल अगाडी बढाएका छौँ ।'

परिक्षण बढाउँन काग लागि एक हफ्ता भित्र नयाँ पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडी बढेको नगरप्रमुख सरावगीले जानकारी दिए । त्यसैगरी उनले वीरगञ्जमै पहिलो पटक गम्भीर किसिमका विरामीहरुको उपचारका लागि आइसीयु एम्बुलेन्सको व्यवस्थापन गरिएको बताए ।

नगरप्रमुख सरावगीले महानगरको तर्फबाट राहत वितरणका लागि एक हजार थान खाद्यान्न सामग्री समेत तयार पारिएको जानाकरी दिए । आवश्यक परे महानगरको सम्पूर्ण विकास बजेट समेत कोभिड व्यवस्थापनमा प्रयोग गर्नेगरी आफुले कार्यपालिका सदस्यहरुसँग छलफल अगाडी बढाएको बताए ।

सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको संयोजकतामा भएको छलफलमा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव मादव राजपाल, पुर्व अध्यक्षद्वय गणेश लाठ र अशोक टेमानी, स्वास्थ्य मन्त्रालयको कोभिड नियन्त्रण समितिका सदस्य सञ्जय खेतान, महानगरका सञ्चार संयोजक गोविन्द देवकोटा, वरिष्ठ सञ्चारकर्मी महेश दास, सामाजिक अभियन्ता प्रकाश थारु, वृजेस्वर चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्कृतीका सह-संस्थापक एवम् उपाध्यक्ष आशुकुमार सर्राफलगायतको सहभागिता रहेको थियो ।

Back to top