×

वीरगञ्ज १० भदौं । वीरगञ्जको आदर्शनगरस्थित स्वर्गीय पशुपति घोषको शालिकलाई सुशोभित गरिएको छ । आदर्शननगर क्षेत्रको टाउन प्लानिङमा महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका तत्कालिन प्रधानपञ्च पशुपति घोषको शालिकलाई सुशोभित गरिएको हो ।

ग्रिन सिटि समुदाय केन्द्र आदर्शनगरले शालिकमा हरियो झिलमिल बत्ती लगाएको छ । वीरगञ्ज नगर क्षेत्रको विकास, प्रवर्दन र सरसफाईमा महत्वपूर्ण भूमिका खेल्दै आएको ग्रिन सिटि समुदाय सेवा केन्द्रले पछिल्लो समय नगरमा लागेको निषेधाज्ञासहितको लकडाउनमा सराहनीय कार्य गरेको छ ।

लकडाउनको समयमा केन्द्रले भारतबाट आवश्यक औषधि आपूर्ति गर्नका साथै नि:शुल्क एम्बुलेन्स, अक्सिजन सिलिन्डरसमेतको व्यवस्थापन गरेको केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए । उनले केन्द्रको पहलमा चिकित्सकहरुसँगको नि:शुल्क परामर्श सेवापनि सुरु गरिएको जानकारी गराए ।

त्यसैगरी केन्द्रले पहिलो पटक लागेको लकडाउनमा लगातार ३ महिनासम्म विभिन्न स्थानमा नि:शुल्क भोजन शिविर समेत चलाएको थियो भने ठाकुरराम बहुमुखी क्याम्पस व्यवस्थापन गरिएको क्वारेन्टिनमा विभिन्न स्थानबाट ल्याएर राखिएका व्यक्तिहरुको समेत सेवा गरेको थियो ।

विभिन्न दाता र निकायहरुको सहयोगमा ग्रिन सिटि सामुदायिक सेवा केन्द्रले क्वारेन्टिनमा बसेकाहरुको खानाको व्यवस्थापन गर्नेदेखि औषधि उपचार समेतको व्यवस्थापन गरेको खेतानले जानकारी दिए ।

कोरोनाभाइरस महामारी नेपाल भित्रिएसँगै केन्द्रले नगरवासीको सेवाका लागि देखाएको अग्रसरता प्रसंसनिय छ । लकडाउनका कारण सबै जनता घरमा सुरक्षित बसेको बेला आफ्नो ज्यानलाई जोखिममा राख्दै ग्रिन सिटिका सदस्यहरुले गरेको कामका कारण सबैको वाहवाही बटुलेका छन् ।

केन्द्रका अध्यक्ष खेतनाले सेवाको भावनाले काम गर्दा छुट्टै सन्तुष्टि प्राप्त हुने बताए । उनले मानवसेवालाई नै सबैभन्दा ठुलो धर्म मानेर आफुहरुले काम गर्ने गरेको बताए ।

Back to top