वीरगञ्ज ५ भदौं । पर्सा जिल्लामा समुदायस्तरमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्न संघिय सरकार गम्भिर बन्नुपर्ने पर्सा क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य हरी नारायण रौनियारले बताउनुभएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका पहिलो हटस्पट र पर्साको क्षेत्र न. ३ सहित पोखरीया नगरपालिका पनि कोरोना भाइरसको ईपिसेन्टर बनेको भन्दै अब लापरवाही गर्ने समय नभएको बताउनुभयो । जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका रौनियारले संघिय उपप्रधान तथा रक्षामन्त्रि ईश्वर पोखर र स्वास्थ्य मन्त्रि भानुभक्त ढकालसँग भेट वार्ता गरी स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनका साथै आवश्यक जनशक्ति परिचालन गरेर जोखिम कम गर्न आग्रह गर्नुभएको छ ।
मुलुकको आर्थिक भार थेग्ने थलो तथा मुख्य प्रवेशद्वार नै जोखिममा भएपछि अरु क्षेत्र सुरक्षित रहन नसक्ने भन्दै नेता रौनियारले यथाशिघ्र जनतालाई सुरक्षाको आभाष गराउन माग गर्नुभएको छ । संक्रमणबाट सुरक्षित रहनका लागि जारी गरीएको निषेधाज्ञाका कारण प्रभावित भएका गरीब तथा विपन्न परिवार हातमुखको जोहो गर्न नसकेर रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरीया नगरपालिकाका बासीन्दालाई सुरक्षित बनाउने नगरका अभिभावक एवम् नगरप्रमुख स्वयम संक्रमित भएपछि अँझै चुनौति थपिएको भन्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रिसँग पनि बार्ता गरेर आवश्यक पहल कदमी चाल्न माग गर्नुभएको छ ।
पोखरीया नगरपालिकामा स्वास्थ्यकर्मी पनि संक्रमित भएको हुँदा बिशेष टोली पठाएर तिब्र गतिमा पिसिआर परिक्षण गर्ने शिविर नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले हालसम्म पर्सा जिल्लामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत रहनुभएका सम्पुर्ण संक्रमितहरुको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।