वीरगञ्ज ४ भदौ । वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर, नर्स र सफाइकर्मी सबैको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ।
कोभिड अस्पतालमा संक्रमितको उपचारमा १५ दिन खटिएका सबै स्वास्थ्यकर्मी र सफाइकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका सञ्चालक डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए।
कोभिड अस्पतालमा १५ दिन खटिएका ३२ जनाको बुधबार स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।
बिहीबार साँझ प्राप्त रिपोर्टमा ती सबै ३२ जनाको रिपोर्ट नेगेटिभ आएको अन्सारीले जानकारी दिए। संक्रमितको उपचारमा खटिएका ४ जना डाक्टर, नर्स, अनमी र अहेब १६ जना तथा १२ जना सफाइकर्मी गरेर ३२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको अन्सारीले बताए।
पीसीआर रिपोर्ट नेगेटिभ आएपछि ३२ जना सबै बिहीबारदेखि नै होम क्वारेन्टिनमा पठाइएको छ। अस्पतालले १५ दिन काम गरेका कर्मचारीको स्वाब परीक्षण गराएर होम क्वारेन्टाइनमा पठाएको हो। अर्को १४ दिनपछि सबै कर्मचारी काममा फर्किने छन्।