वीरगञ्ज ३२ श्रावन । पर्सामा कोरोनाभाइरस सङ्क्रमणको कारण ज्यान गुमाउँनेको संख्या २१ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार जिल्लामा सङ्क्रमणबाट ज्यान गुमाउँनेको संख्या २१ पुगेको हो ।
हालसम्म जिल्ला १ हजार २ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ जसमा ९ सय ७७ जना पुरुष र २ सय ४८ जना महिला रहेका छन् । सोमबार मात्रै वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिकाकागरी ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
त्यसैगरी अहिलेसम्म जिल्लामा ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ५ जना पत्रकार, ८३ कैदी थुनुवा, ३२ जना अस्पताल सफाइकर्मी, गार्ड, कार्यालय सहयोगी र १९ जना भारतीय नागरिकमा समेत सङ्क्रमण देखिएको छ ।
त्यस्तै कोरोना सङ्क्रमणबाट मुक्त भएर २ सय ९८ जना घर फर्किसकेका छन् भने विभिन्न स्थानको आइसोलेसनमा १ सय २४ जना, होम आइसोलेसनमा ४ सय ७२ जना सङ्क्रमितहरु रहेका छन् । अहिलेपनि जिल्लाका विभिन्न क्वारेन्टिनमा १ सय ४६ जना कोरोनाका शंकास्पद व्यक्तिहरु रहेका छन् ।
पर्सामा पिसिआर परिक्षणका लागि जिल्लाका विभिन्न स्थानबाट १५ हजार ६ सय ५४ जनाको स्वाबको नमूना संकलन गरिएको छ जसमा ११ सय २५ जनाको रिपोर्ट अहिले आउँन बाकी रहेको छ । सोमबार ४ सय २४ जनाको स्वाबको नमूना संकलन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।