वीरगञ्ज ३२ श्रावन । बारा जिल्लामा आइतबार एकै चोटी ६५ जना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडा बनाउँने निर्णय गरेको छ ।
बारामा पनि कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिसकेको आशंका उत्पन्न भएपछि स्थानीय प्रशासनले सरोकारवाला निकायहरुसँग छलफल गर्दै लकडाउनको अवधिलाई बढाउँदै त्यसलाई थप कडा गर्ने निर्णय गरको हो ।
आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितीको वैठकले भदौं १ गते सोमबार बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा अवधीमा औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छभने अन्य अत्यावश्यक सामग्रीका पसलहरु खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी , तरकारी पसलहरुसमेत बिहान ८ बजेभित्रै बन्द गरिसक्न निर्देशन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा सम्बन्धी सुचनामा निषेधाज्ञा अवधीभर अत्यावश्यक काम बाहेक मानिसहरुलाई घर बाहिर वा घरको कम्पाउण्डमा समेत ननिस्कन आदेश दिइएको छ । त्यसैगरी आसपासका जिल्लामा समेत सङ्क्रमणको उच्च चेपेटमा रहेको भन्दै सम्पूर्ण स्थानीय तहहरुमा लाग्ने हाट बजार समेत बन्द गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञाकको उलंघन गरेको पाईएमा प्रचलित कानुन अनुसार दण्ड समेत दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।