वीरगञ्ज ३१ श्रावन । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
प्रदेश सांसद् डा. यादवले शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित आफ्नो निजि निवासमा सामाजिक संश्ता सानो पाइलाका प्रतिनिधिलाई कोरोनाभाइरस सङ्क्रमितहरुको उपचारमा अति आवश्यक भेन्टिलेटरमा प्रयोग हुने अक्सिजन एडजस्टमेन्ट भल्व, एडल्ट लारिंङस्क्पो, चाइल्ड लारिंङस्क्पो, एम्बु ब्याग र वेट स्केललगायत अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
नारायणी अस्पतालमा सानो पाइलाले जडान गरेको भेन्टिलेटर मेसिन सामग्री आभावका कारण सुचारु हुननसकेको जानकारी प्राप्त भएपछि डा. यादवले आफ्नो व्यक्तिगत खर्चबाट सामग्री उपलब्ध गराउँनु भएको हो ।
जनता समाजवादी पार्टीकी प्रभावशाली नेतृ समेत रहनुभएकी डा. यादवले यसअघि पनि वीरगञ्जमा सञ्चालित नारायणी अस्थायी कोभिड अस्पताल गण्डक, नेसनल मेडिकल कलेज, नारायणी अस्पताल र विभिन्न प्रहरी चौकीहरुलाई अनुगमन गर्दै स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गर्नुभएको थियो ।
उहाँले आवश्यक परे भविष्यमा थप सहयोग गर्न पछाडी नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । विभिन्न समयमा आफ्नो निर्वाचन क्षेत्र भित्र र बाहिरसमेत पुगेर सहयोग गर्नुहुने उहाँलाई पर्सा जिल्लामा सहयोगी नेतृका रुपमा पनि चिनिन्छ ।
डा. यादवले कोरोनाभाइरस महामारीलाई पराजित गर्न सबै मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै सबैलाई आ-आफ्नो स्थानबाट आवश्यक सतर्कता र सावधानी अपनाउँन अनरोध समेत गर्नुभयो ।