वीरगञ्ज ३० श्रावन । वीरगञ्जमा सञ्चालित बैंकहरुले आवश्यकताको आधारमा नगद कारोबार चलिरहेको बताएका छन् ।
बैंकर एसोसिएसन वीरगञ्जले शुक्रबार पेट्रोलियम व्यवसायी संघको विज्ञप्तिलाई खण्डन गर्दै बैंक र वित्तीय संस्थाहरुले आवश्यकताको आधारमा नगद कारोबार गरिरहेको बताएका हुन् ।
पर्सा र बाराका पेट्रोलियम व्यवसायीहरुले बैंकबाट नगद कारोबार बन्द भएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएपछि बैंक एसोसिएसनले यस्तो बताएको हो । व्यवसायीहरुले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै श्रावन ३२ गतेबाट पर्सा र बाराका सम्पूर्ण पेट्रोल पम्प बन्द गर्ने चेतावनी दिएका थिए ।
एसोसिएसनका अध्यक्ष रोशन भक्त श्रेष्ठले पेट्रोलियम व्यवसायीहरुले आफुहरुसँग परामर्स नगरी विज्ञप्ति निकालेको भन्दै दु:ख व्यक्त गरे । उनले बैंकहरु समन्वय गर्न जहिलेपनि तयार रहेको बेला पेट्रोलियम व्यवसायीहरुले विज्ञप्ति निकाल्नु दु:खद भएको बताए ।
'पेट्रोलियम पदार्थ अतिआवश्यक बस्तुमा पर्छ, नेपाल आयल निगमलाई तिर्ने पेट्रोल पम्पबाट आएका नगद जम्मा गरेर हामीले भाउचर इस्यु गरेकै छौं,' श्रेष्ठले भने, 'पेट्रोलियम व्यवसायीहरुले हामीसँग छलफल र समन्वयनै नगरी विज्ञप्ति निकाल्नु दु:खद छ । हामीले महामारीका बीच पनि आफ्नो सेवा निरन्तर दिएका छौं ।'
निषेधाज्ञा सुरुवाती दिनमा बैंकहरुले सेवा नदिएपनि प्रशासनको आग्रह पश्चात जोखिम वावजुद आवश्यक सेवा सुरु गरेका छन् । बैंकमा अहिले क्लियारिंग र आवश्यकताको आधारमा नगद कारोबार चलिरहेको ग्लोबल आइएमई बैंक घडिअर्वा शाखाका प्रमुख सन्तोष साहले बताए । उनले नगद कारोबार जोखिमपूर्ण भएको हुनाले विशेष सतर्कता अपनाउनु पर्ने जानकारी दिए ।
'हामीले आफ्नो बैंकबाट बैशाखदेखि श्रावनसम्ममा ८० वटा भन्दाबढी आयल निगमको नाममा भाउचर इस्यु गरेका छौं,' साहले भने, 'अहिले निषेधाज्ञा छ, केहि बैंकका कर्मचारी समेत सङ्क्रमित भएका छन् तापनि हामीले प्रशासनको आग्रह पछि आवश्यक नगद र क्लियारिंग सेवा सुरु गरेका छौं, पेट्रोलियम व्यवसायीहरुले हामीसँग समन्वय गर्नु भएन, कुन समस्याको समाधान छैन? छलफल त् गर्नु पर्यो ।'
साहले आवश्यकता परेको बेला कडा निषेधाज्ञाको समयमा पनी आफुले बैंक बन्द हुँदाहुँदै काठमाडौँ शाखालाई अनुरोध गरेर कारोबार गराएको बताए ।