वीरगञ्ज २९ श्रावन । स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचारका काठमाडौँ पुगेका पर्साको पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जमा दुई पटक कोरोना परिक्षण गराउँदा नेगेटिभ देखिएको नगरप्रमुख यादवमा काठमाडौँस्थित मेदिसिटि हस्पिटलमा पुन: कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
नगरप्रमुख यादवलाई श्वासप्रश्वासमा समस्या आएपछि श्रावन २६ सोमबार हेलिकप्टर चार्टर गरेर काठमाडौँ लागिएको थियो । त्यसअघि उनि चार दिनदेखि वीरगञ्जस्थित तराई हस्पिटलको अईसियु कक्षमा उपचाररत थिए ।
नगरप्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक प्रोफाइलबाट कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि काठमाडौँमा पुन: परिक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।
'हाल ह्याम्स अस्पताल धुमबाराहि काठमाडौँमा उपचाररत छु । मलाई वीरगञ्जस्थित तराई अस्पतालबाट थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याईएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ भएतापनि गत सोमबार काठमाडौँमा गरिएको स्वाब परिक्षणमा भने कोरोना भाईरस (कोभिड– १९) संंक्रमणको पुष्टि भएको छ,' यादवले फेसबुकमा लेखेका छन् ।
https://www.facebook.com/permalink.php?story_fbid=1594345670739792&id=100004931235982
नगरप्रमुख यादवले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आउँदा सकारात्मक आत्माबल बढेको बताएका छन् । उनले छिट्टै कोरोनालाई पराजित गर्दै जनताको सेवामा पुन: फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।
'अहिलेको स्वास्थ्य अवस्था दैनिक सुध्रिदै छ । क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकरात्मक आत्मबल बढेको छ । मलाई आशा छ तपाईंहरुको माया, सद्भाव र शुभेच्छाका कारण मैले चाडै कोरोना भाइरसलाई पराजित गरि पुन: तपाईंहरुकै सेवामा हाजिर हुनेछु । मेरो स्वास्थ्य लाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहन्छु,' उनले भनेका छन् ।'
श्रावन २३ गते ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएपछि यादव तराई हस्पिटलमा भर्ना भएका थिए । यादवलाई गम्भीर किसिमको बाईलेटरल निमोनिया देखिएको अस्पतालका निर्देशक डा. रोशन कुर्मीले बताएका थिए ।