वीरगञ्ज २९ श्रावन । नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष विकास तिवारीलाई प्रहरीले रिहा नगरे कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।
नेविसंघले बिहिबार वीरगञ्जमा एउटा पत्रकार सम्मलेनको आयोजना गरी बुधबार पक्राउ पारिएका तिवारीलाई बिनासर्त रिहा गर्न माग गरेको हो ।
संघका पुर्व अध्यक्ष राकेश यादवले तिवारीलाई प्रहरीले झुटो मुद्दा लगाएर पक्राउ गरेको बताए । उनले राजनीतिक दवावमा आएर पर्सा प्रहरीले विद्यार्थी नेता तिवारीलाई पक्राउ गरेको आरोप लगाए ।
प्रहरीले तिवारीलाई पक्राउ गर्ने कारण समेत नखुलाएको यादवले भने, 'प्रहरीले विकास तिवारीलाई पक्राउ गर्ने स्पष्ट कारण समेत बताउन सकेको छैन, साइबर अपराध गरेको मात्र भनेको छ, के अपराध, कस्तो अपराध केहि विवरण खुलाएको छैन, राजनीतिक दवावमा विकासलाई पक्राउ गरिएको छ ।'
उनले विगतका दिनहरुमा विकास तिवारीले स्थानीय प्रशासन र प्रहरी विरुद्ध गरेको आन्दोलनले भयवित भएर उनलाई पक्राउ गरिएको बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका यादवले तिवारीलाई बिना सर्त रिहा नगरीए आफुहरु चरणबद्ध आन्दोलन सुरु गर्ने चेतवानी समेत दिए ।
नेसविसंघ पर्साका उपाध्यक्ष शेष हजाराको अध्यक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साह, नेविसंघका विद्यार्थीहरु केशव राज मिश्र, अभय कर्ण, प्रभु साह, अकाश नेपाली, रमेश यादव, सुरेश महतो, संजय महतोलगायतको उपस्थिती रहेको थियो ।
तिवारीलाई हिजो प्रहरीले घरबाटै तिवारीलाई बोलाएर हिरासतमा लिएको थियो । उनी माथी शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीले आरोप लगाएको छ ।