वीरगञ्ज २९ श्रावन । पेट्रोलियम व्यवसायीले बैंक र वित्तीय संस्थाहरु नखुले पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् । बार र पर्साका पेट्रोलियम व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरु मार्फत कुने क्यास कारोबार बन्द हुँदा आफुहरुलाई गाह्रो परेको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।
पर्सा र बाराका पेट्रोलियम डिलर्स एसोसिएसनले बिहिबार एउटा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पर्सा र बाराका बैंक र वित्तीय संस्था मार्फत हुने क्यास कारोबार श्रावन ३२ गतेसम्म नखुले नियमित रुपमा चल्दै आएको पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
बैंक र वित्तीय संस्थाहरु बन्द भएर क्यास जम्मा नहुँदा आयल निगमलाई भुक्तानी गर्न नसकिएको पवन पुत्र आयल इन्टरप्राइजेजका सञ्चालक पुरुषोत्तम गुप्ताले बताए ।
'विगत १९ दिनदेखि लागेको निषेधाज्ञाका कारण वीरगञ्जका बैंकहरु बन्द छन् यता केहि हफ्तादेखि बारा जिल्ला प्रशासनले बारामा निषेधाज्ञा घोषणा गरेसँगै उताका बैंकहरुपनि बन्द भए,' गुप्ताले भने, 'हाम्रो सारा कारोबार क्यासबाट हुन्छ, जब बैंकमा क्यासनै जम्मा गर्न सक्दैनौं भने आयल निगमलाई पैसा कसरी तिर्छौं?'
उनले १९ दिनदेखि लागेको निषेधाज्ञामा पेट्रोलियम व्यसायीहरु अफ्ठ्यारोमा भएपनि नियमित सेवा दिएको जनाए । '१९ दिनदेखि लागेको निषेधाज्ञामा हामीले आफ्नो सेवा कहिले बन्द गरेनौं, अब बैंकहरु नखुले आगामी दिनमा सेवा बन्द गर्न हामी बाध्य हुनेछौं,' गुप्ताले भने ।