वीरगञ्ज २६ श्रावन । पर्साका राजनीतिक दलले वीरगञ्जमा उत्पन्न भएको समस्यालाई समाधान गर्न सकारात्मक पहल सुरु गरेका छन् । पर्साका प्रमुख तिन दल नेपाली कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीले कोरोना महामारीका कारण वीरगञ्जमा उत्पन्न भएका विभिन्न समस्याहरुलाई समाधानकालागि संयुक्त पहल सुरु गरेका हुन् ।
सोमबार वीरगञ्जस्थित नारायणी अस्पतालमा अस्पताल प्रशासन, चिकित्सक संघ, राजनीतिक दलका अगुवा नेता र स्थानीय समाजसेवीहरुको उपस्थितिमा सम्पन्न छलफलमा विभिन्न निर्णयहरु गरिएको छ ।
आइतबार नारायणी अस्पतालमा भएको तोडफोड र प्रदर्शनका कारण चिक्तिसकहरुको मनोबल गिरेको बैठकले समिक्षा गरेको थियो । बैठकमा आगामी दिनमा यस्ता घट्ना नदोहोरिने आश्वासन पाएपछि चिकित्सकहरुले घोषणा गरेको आन्दोलन समेत स्थगित गरेका छन् ।
त्यसीगरि बैठकले विगतका केही दिनदेखि निजि अस्पतालहरुको लापरवाहीका कारण केहि स्थानीयहरुले ज्यान गुमाउनु परेको घटना दुर्भायापूर्ण भएको भन्दै त्यसताे घट्नालाई नदाेहरिन दिन प्रत्येक निजि अस्पतालकाे अनुगमन गर्ने निर्णय गरेको छ । बैठकले नारायणी अस्पताललाई पिसिआर परिक्षणको दायरा फराकिलो पार्दै छिटोभन्दा छिटो एसएमएस मार्फत सम्बन्धित सङ्क्रमितहरुसम्म रिपोर्ट पुर्याउन आग्रह सेमत गरेको थियो ।
त्यस्तै नारायणी अस्पतालका जनरललगायतका सेवाहरु सञ्चालनमा नआएसाम १५ बेडकाे आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको पिसिआर परिक्षण गर्दै बन्द रहेका सेवाहरु छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनेलगायत निर्णयहरु गरिएको थियो ।
अपुग रहेको स्रोत, साधन र जनशक्ति व्यवस्थापनका लागि सबैले आ-आफ्नो स्थानबाट संघ र प्रदेश सरकारसँग पहल गर्ने निर्णयहरु भएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका युवा नेता इश्वर यादवले बताए ।
बैठकले जिल्ला जनस्वास्थ्य र वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य कार्यालयलाई परिचालित गरेर होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुको पुन: स्वाब जम्मा गरेर नारायणीलाई बुझाउने निर्णय समेत भएको यादवले जानकारी दिए ।
यादवले बैठकमा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विबेदी, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, नेकपाका प्रतिनिधि सुदिप लामा, समाजिक अभियन्ता प्रकाश थारु, नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाघ्याय, नारायणी अस्पताल अन्तरगत काेबिड विशेष अस्पतालका इन्चार्ज डा. निरज सिंहलगायतकाे उपस्थिति रहेको थियो ।