वीरगञ्ज १८ श्रावन । संघीय सरकारले वीरगञ्जस्थित नारायणी अस्पताललाई पुन: कोभिड अस्पतालमा रुपान्तरण गर्न निर्देशनको स्थानीय स्तरबाट विरोध सुरु भएको छ । संघ सरकार अन्तर्गत पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नारायणी अस्पतालाई कोभिड अस्पताल बनाउँन पत्रचार गरेपछि शनिबारदेखी निर्देशन अनुसार पुन कोभिड अस्पताल बनाउँन काम गर्न सुरु गरिएको छ ।
जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले एक प्रेस विज्ञप्ती जारी गर्दै नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउँन लागिएकाेमा विरोध जनाएका छन् । उनले प्रेस विज्ञप्तीमार्फत वीरगञ्जकाे एक मात्र सरकारी नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउँन नहुने भन्दै विकल्पका बारेमा सोच्न सुझाव दिएका छन् ।
काेराेना महामारीकाे समयमा आर्थिक अवस्था झन कमजाेर भएका जनताकाे एकमात्र सहारा नारायणी अस्पताललाई कोभिड अस्पताल बनाइ जनताकाे जीवन खेल्वाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकाेटाले नारायणी अस्पतालको सट्टा नेसनल मेडिकल कलेजलाई किन कोभिड अस्पताल नबनाइएको भनेर प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्रीज्यु, माननीय स्वास्थ्य मन्त्रीज्यु, वीरगञ्जकाे अवस्थाकाे वारेमा यहाँहरु बेखवर हुनुहुन्छ जस्ताे लाग्याे । काेभिड संक्रमणबाट हरेक दिन मानिसकाे मृत्यु भैरहेकाे छ, यहाँको परिस्थिति हेर्ने हाे भने वीरगञ्जका अधिकांश मानिस संक्रमित भएकाे अनुमान गर्न सकिन्छ । संक्रमितलाई घरमा थुनेर राख्नु परेकाे छ । अथक प्रयास पछि नारायणी अस्पतालाई गरिव जनताले उपचार पाउँने अस्पतालकाे रुपमा सञ्चालन गरेकाे थियाे । आज फेरि नारायणीलाई काेभिड बनाउँदै हुनुहुन्छ । वीरगञ्जमा रहेकाे सुविधा सम्पन्न नेशनल मेडिकल कलेजलाई काेभिड अस्पताल बनाउँन किन सक्नुहुन्न माननीय मन्त्रीज्यु कि नेशनल मेडिकल कलेजकाे कर्जा चुक्ता गर्न बाकी छ?'
देवकोटाले सरकारले यसअघि नारायणीलाई कोभिड अस्पताल बनाएर सेवाग्राहीलाई जनरल लगायतका सेवाहरु नेशनल मेडिकलबाट लिन अनुरोध गरेको थियो । तर त्यहाँ उचित उपचार नपाएको विरामीहरुले गुनासो गरेका थिए भने डाइलेसीस गराउँन गएका ७ जना मृगौला रोगीको मृत्यु समेत भएको जानेका छन् ।
त्यसैगरी समाजिक अभियान्ता एवम् जसपाका नेता ओकप्रकाश सरार्फले नारायणीलाई पुन: कोभिड अस्पताल बनाउँनु जनता माथी घोर अन्याय भएको बताएका छन् । उनले आफ्नो फेसबुक वालमा लेख्दै नारायणीलाई पुन: कोभिड अस्पताल बनाइए आफुहरु आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सर्राफले लेखेका छन् 'जनताको भावना, आवश्यकता, सम्मानित उच्च अदालतको आदेश, नागरिक आन्दोलन र सर्वपक्षिय लिखित निर्णयलाई बेवस्ता र बाइपास गर्दै पेलेर नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउँनु जनता माथि घोर अन्याय हो, सबै मिलि बिरोध गरौँ ।
यस्तै अनलाइन खबरका पर्सा सम्बादाता सुरेश बिडारी, अन्नपूर्ण पोष्ट दैनिकका पर्सा सम्बादाता क्रान्ति साह, विएल सेवाकी पर्सा सम्बादाता विमला गुप्ता लगायतले नारायणीलाई पुन: कोभिड अस्पताल नबनाई विकल्प खोज्नु पर्ने तर्क गरेका छन् ।