वीरगञ्ज ७ श्रावन । तीन दिनदेखिको लगातारको वर्षाका कारण डुबानमा परेका पर्सा जिल्लाका विभिन्न क्षेत्रहरुमा प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा गएको टोलिले अनुगमन गरेको छ ।
डुबानका कारण समस्यामा परेका जिल्लाका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटगरि दु:ख बुझ्न बुधबार मुख्यमन्त्री गद्दीले अनुगमत गरेका हुन् ।
डुबानका कारण प्रभावित भएको जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को पकाहामैनपुर गाउँपालिका ५ को धोवियाटोला, भेलाहा र धोरे गाउँको मुख्यमन्त्री लालबाबु राउतसहितको टोलिले निरीक्षण गरेको थियो ।
मुख्यमन्त्री राउतसँगै क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, पकहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।
निरीक्षणका क्रममा पुगेका मुख्यमन्त्रीलाई स्थानीयले सिकटा खोलामा आउने बाढीले वर्षेनी ठूलो क्षती पुर्याउने गरेको भन्दै खोला नियन्त्रण गरिदिन माग गरेका थिए ।
सिकटा खोला नियन्त्रणका लागि प्रयास गरिएको भएपनि भारतीय सुरक्षाकर्मीले नेपालमै पनि ड्याम लगाउन नदिँदा वर्षेनी डुबान हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
खोला सही रुपमा व्यवस्थापन नहुँदा त्यस क्षेत्रका ५ सय घरधुरी वर्षेनी डुबानमा पर्ने गरेको भन्दै यसको दीर्घकालिन व्यवस्था गरिदिन माग गरे । यस्तै टोलीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको पनि निरीक्षण गरेको छ ।
क्षेत्रमा भेडाहा खोलाले बढी क्षती पुर्याउने गरेको भन्दै खोला नियन्त्रणको माग गरेका थिए । मुख्यमन्त्री राउतले बाढीले क्षती पुर्याएको स्थानीयलाई आवश्यक राहत उपलब्ध गराउन तथा खोला नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्ने आश्वासन दिनुभयो ।
अनुगमन टोलिमा प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्द अंसारी, पार्टीका नेता रामनरेश यादव, तबरेज अहमद, बिरेन्द्र यादव, सलाउदिन अहमदलगायतको सहभागिता रहेको थियो ।