×

काठमाडौँ २५ असार । संघीय संसदले समाजवादी पार्टीकी सांसद सरिता गिरी पदमुक्त भएको सूचना जारी गरेको छ।

संसद सचिवालयले समाजवादी पार्टीले गिरीलाई पार्टीबाट निष्काशन गरेको र सांसद पदबाट हटाउन भनी संसदलाई सिफारिश गरेबमोजिम गिरीको पद रिक्त भएको जानकारी दिएको छ।

समाजवादी पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गिरीले सो पार्टीको संसदीय दलले निर्णय गरी जारी गरेको निर्देशन (ह्वीप) उल्लंघन गरेको भनी पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीबाट निष्काशन गरिएको भनी लेखि पठाएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ।

संघीय समाजवादी पार्टीले मंगलबार सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर जारी गरिएको नयाँ नक्सा संविधानमा रहेको निसान छापमा समेट्न गरिएको संविधान संशोधनमा गिरीले मतदान बहिष्कार गरेकोमा सो पार्टीले उनलाई कारवाही गरेको हो।

समाजवादी पार्टीलगायत सबै दलले सो संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेका थिए।

सोहि प्रस्तावको पक्षमा मतदान गर्न भनी जारी गरिएको पार्टी ह्विप उनले उल्लंघन गरेपछि पार्टीले उनलाई कारवाही गरेको हो।

Back to top