वीरगञ्ज २१ असार । कोरोनाभाइसर संक्रमणको जोखिम अझै रहेकाले मठ, मन्दिर तथा मस्जिदमा भिडभाड नगराउन स्थानीय प्रशासनले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
वीरगञ्जमा रहेका विभिन्न मठ, मन्दिर तथा मस्जिद लगायत धार्मीक केन्द्रहरुमा भिडभाड हुँदा कोरोनाभाईरस फैलने जोखिम अझ उच्च हुने भएकाले यस्ता ठाउँमा भिडभाड नगराउन सम्बन्धित मन्दिर, मस्जिदका धार्मीक अगुवाहरुलाई प्रहरीले आग्रह गरेको हो ।
वडा प्रहरी कार्यालय विर्ताको पहलमा वीरगञ्जभित्र रहेका मठ, मन्दिर तथा मस्जिदका अगुवाहरुसँग भएकाले छलफलले अहिले महामारीका बेला रहेकाले सबैले आफ्नो क्षेत्रको मठ मन्दिर तथा मस्जिदमा भिडभाड नगराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रहरी निरीक्षक निर्मल पनेरुले अब साउन महिना लाग्दै गर्दा हिन्दु धर्मावलम्बीहरु मन्दिरमा भिड लाग्ने र लकडाउन केही खुकुलो भएको बेला मस्जिदहरुमा पनि नमाज तथा जुमा पढ्न भिड लाग्ने अवस्था आउन थालेकाले यस्तो भिड हुन नदिन अहिलेबाटै सबैले सहयोग गर्न आग्रह गरे ।
मठ, मन्दिरका पुजारी तथा मस्जिदका धर्मगुरु एवं मौलानाहरुले वैश्विक महामारीको चपेटामा विश्व नै रहेकाले त्यसबाट बँच्ने एक मात्रै विकल्प भिडभाड नगर्नु भएकाले आफूहरुले पनि मठ, मन्दिर तथा मस्जिदमा भिडभाड हुन नदिने बताए ।
साथै स्थानीय प्रहरी प्रशासनको सहयोगमा सम्भव भएसम्म सामाजिक दुरी कायम राखेर भए पनि मठ, मन्दिर तथा मस्जिदमा पुजापाठ तथा दर्शनका लागि व्यवस्था मिलाउन पनि आफूहरु तयार रहेको अगुवाहरुले बताएका थिए ।
छलफलमा अलखियामठ, माइस्थान, विर्ता मन्दिर, गिता मन्दिर, राणिसती मन्दिर तथा मदर्सा बरकतुलउलुम, हजरत अबु बकर मस्जिद, मक्कि जामे मस्जिद, हजरत उस्मान गनि मस्जिद, हजरत बिलाल मस्जिद लगायत वीरगञ्जमा रहेका विभिन्न मठ, मन्दिर तथा मस्जिदका प्रतिनिधि तथा धार्मीक अगुवाहरुको उपस्थिति रहेको थियो ।