×

वीरगञ्ज २१ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई लागूऔषध गाँजा ओसारपसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले सो ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

Back to top