काठमाडौँ १६ असार । सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
उनीसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका हुन्।
मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रसस्त गर्न माग गरेका हुन्।
बैठकको सुरुमै बोलेका अध्यक्ष प्रचण्डले सुरुमा नम्र स्वरमा बोलेका थिए । उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गरे । तर, त्यसपछि उनी प्रधानमन्त्री ओलीले आइतबार दिएको सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफैले राजीनामा मागेको बताए ।
‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ,’ एक स्थायी कमिटी सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’