वीरगञ्ज १६ असार । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले वीरगञ्जमा मंगलबार प्रदर्शन गरेको छ ।
वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुन: घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । त्यसैगरी पार्टीकै अर्को समुह वीरगञ्जको स्वीमिङ्ग पुलबाट जम्मा भएर नगर परिक्रमामा सहभागी भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले सरकारले फेरि पनि मधेसी समुदामाथि अन्याय लाद्न नागरिकता विधेयक ल्याएको आरोप लगाए ।
कोणसभालाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर एवं जसपा नेता विजयकुमार सरावगीले केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।
यसैगरी तत्कालिन समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता रामनरेश यादव सरकारले ल्याउन खोजेको नागरिकता सम्बन्धित विद्येयक मधेस विरोधी सोचको उपज भएको बताउँदै सबैलाई मिलेर यसको विरोध गर्न आग्रह गरे ।
यस्तै विरोधसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधेयकले बुहारीमाथि अन्याय गर्ने बताए ।
संविधानसभा सदस्य एवं जसपा नेतृ करिमा बेगमले महिला तथा मधेसिका साथ सरकारले फेरि विभेद गर्ने गरि कानुन बनाउन लागेको प्रति आपत्ति जनाइन् ।
विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप छ ।
पर्सा क्षेत्र न. ४ का सांसद लक्ष्मण कर्णले नागरिकता विद्येयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताउँदै मधेसविरोधी विद्येयक कुनै पनि अवस्थामा पारित गर्न नदिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रमेश कुर्मी, सिँहासन साह कलवार, करिमा बेगम, जन्नत अन्सारी, अब्दुल रहिम अन्सारी, भिमा यादब, तत्कालिन राजपाका महासचिब शिब पटेल, निजामोदिन समानी, सहमहासचिब सुरेन्द्र प्रसाद कुर्मी, समाजवादी पार्टीका केन्द्रिय सदस्य पुरुषोत्तम झा, जनार्दन यादब, राजपाका बरिष्ट नेता रामचन्द्र पण्डित, अनिरुद्ध साह कलवार, मुस्तकिम अन्सारी, राजेश साह, मुकेश द्विवेदी, सिपू तिवारी, केन्द्रिय सदस्य मुन्नि श्रीवास्तव, रेखा साह, मिनि सिँह, विद्यार्थी नेता मधुसुदन चौरसियालगायतको उपस्थिती रहेको तत्कालिन समाजवादी पार्टी पर्साका सचिब तवरेज अहमदले जानकारी दिनुभयो ।
सो अवसरमा सहभागिहरुले नागरिकता संशोधन विद्येयक फिर्ता गर, छोराछोरीमा विभेद गर्न पाईदैन, महिला हिँसा बन्द गर, लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।