वीरगञ्ज - पर्साको पकाहमैनपुर गाउँपालिका वडा न. २ सुर्जाहाका १४ घर परिवारलाई राहतस्वरुप खाद्य सामाग्री वितरण गरिएको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सरकारले देश लकडाउन गरेपछि यसबाट प्रभावित भएका गरीब, विपन्न तथा दलित परिवारलाई विभिन्न दाताहरुको सहयोगमा राहत सामाग्री वितरण गरिएको हो ।
स्थानीय युवा विवेक चौहानले सो क्षेत्रका बासिन्दा राहतको अभावमा कठिनाई भोगिरहेको जानकारी गराएपछि बालअधिकारकर्मी जया साहले समाजसेवी दाताहरुको सहयोगमा अतिविपन्न, गरीब तथा दलित १४ परिवारलाई खाद्य सामाग्री उपलब्ध गराइएको हो ।
काठमाण्डौका समाजसेवीद्वय ज्योती दाहाल, शिल्पा बैद्यको आर्थिक सहयोगमा सुर्जाहाका परिवारलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका सामाग्री वितरण गरिएको बालअधिकारकर्मी साहले बताउनुभयो ।
दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने परिवार परिवारको कठिनाईलाई थोरै भएपनि राहत पुग्ने र अरुलाई पनि सहयोग गर्न अभिप्रेरित गर्ने अभिप्रायले राहत सामाग्री वितरण गरिएको साहले बताउनुभयो ।