वीरगञ्ज, १५ असार । ‘मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५ । कृषकहरुले काम गर्दै दहीचिउरा खाएर मनाउने यो दिन गैरकृषकका लागि भने ‘खाने पर्व’का नामले विकसित हुँदै गएको छ ।
सांस्कृतिक महत्व बोकेको दहीचिउरा स्वास्थ्य दृष्टिकोणले कस्तो छ? कसले खाँदा फाइदा हुन्छ? कसरी खाँदा स्वास्थ्यलाई लाभ पुग्छ? चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। यही कारण धेरै काम गर्ने दिन अर्थात् असार १५ मा दहीचिउरा खाने प्रचलन चलेको हुनुपर्छ।
असार १५ मा गर्मी पनि बढेको हुन्छ। गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दहीचिउरा खाने चलन बसाएको हुनुपर्छ हाम्रा पुर्खाहरुले । दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ ।
दहीचिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन । अरुबेला पनि दहीचिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ ।
दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ । चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ ।
धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ । चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ ।
हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं ।
यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि लाभदायी हुन्छ । हाम्रा विभिन्न पारम्परिक अचार अथवा तरकारीसँग दहीचिउरा खादा अझ पूरक र पोषिलो हुन्छ ।
दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ । तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक पर्दैन । दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ । दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने ।
मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन । बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ । त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो । दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।
दहीका फाइदा
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
–दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।
चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।