×

वीरगञ्ज ४ असार । भवन डिभिजन कार्यालय, पर्साले जीराभवानी गाउँपालिका–५ शङ्करसरैयामा २०७० सालमा बर्थिङ सेन्टर भवन निर्माण शुरू गरे पनि सात वर्ष बित्दा पनि निर्माण कार्य पूरा भएको छैन।

२०७० जेठमा दुई तले बर्थिङ सेन्टर निर्माणको लागि ५ करोड रुपैयाँमा अजम्बर/शिवओम जेभी कन्स्ट्रक्शनका शिवजी सापकोटाले ठेक्का सकार गरेका थिए।

२४ कोठे भवन निर्माणको ठेक्का लिएको ठेकेदारले भवन खडा गर्नेबाहेक फिनिसिङ कार्य गरेका छैनन्। प्लास्टरलगायत फिनिसिड्ढा कार्यहरू नहुँदा अहिलेसम्म बर्थिङ सेन्टर अलपत्र अवस्थामा छ।

बर्थिङ सेन्टर निर्माणको लागि स्थानीय रामचन्द्र महरा चमारको ५ कट्ठा जग्गा लिइएको थियो। चमारसँग जग्गा लिएर उनलाई २ कट्ठा जग्गा सोधभर्ना गरिएको थियो।

२०७० जेठमा निर्माण कार्य शुरू भएको बर्थिङ सेन्टर सञ्चालनमा आएपछि चमारलाई रोजगार दिने आश्वासन दिइएको थियो। हाल चमार कहिले बर्थिङ सेन्टर निर्माण होला र काम पाउला भन्ने आशामा छन्।

सात वर्ष बित्दा पनि यसतर्फ कसैले पनि सोधखोज गरेको छैन। वडाध्यक्ष दारासिंह राउतले यसबारे बारम्बार ध्यानाकर्षण गराइएको तर कुनै सुनवाइ नभएको बताए। उनले स्थानीय तहको निर्वाचनपछि बर्थिङ सेन्टरको काम ठप्प प्रायः रहेको बताए। दुई वर्षअगाडि जस्तो अवस्थामा भवन थियो, त्यही रूपमा अहिलेसम्म छ। त्यसबाहेक कुनै प्रगति नभएको उनले बताए।

प्लास्टर गर्ने, झ्याल, ढोका लगाउनेलगायतका कार्यहरू भएका छैनन्। वडा नं. ५ मैं पुरानो एक तले स्वास्थ्य चौकी भवनमा अहिले बर्थिङ सेन्टर सञ्चालित छ।

ओपिडी, औषधि भण्डारण, बर्थिङ सेन्टर सञ्चालन गर्दा चार कोठे एक तले भवनमा स्थानाभावले समस्या भइरहेको

स्वास्थ्यकर्मीहरूले बताए। बर्थिङ सेन्टर निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न अहिले कसैले पनि दबाब दिएको देखिंदैन। जसले गर्दा भवन निर्माण सात वर्षदेखि अलपत्र अवस्थामा छ।

Back to top