वीरगञ्ज ४ असार । वीरगञ्जका औद्योगिक घरानाहरुले कोरोना भाईरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकाले खरिद गर्न लागेको पीसीआर मेशिनको लागि सहयोगको चेक बिहीबार हस्तान्तरण गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई नै कोरोना मुक्त बनाएर ‘ग्रिनजोन’ मा ल्याउनका लागि परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको र त्यसको लागि पीसीआर मेशिन खरिद गर्न सहयोग आह्वान गरे अनुसार वीरगञ्जका उद्योगी व्यवसायीहरुले एकमुष्ठ रुपमा ७० लाख सहयोग रकम दिने घोषणा गरेका थिए ।
सोही घोषणा अनुरुप वीरगञ्जका वरिष्ठ उद्योगी एवम् शालिमार समुहका अध्यक्ष अशोक बैद्यले बिहीबार महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई चेक हस्तान्तरण गर्नुभएको छ ।
एरोटक प्रा.लि.ले २ लाख ५० हजार, एपेक्स फर्मासिटिक्ल्स २ लाख ५० हजार, इन्दुशंकर चिनी मिलद्वारा ५ लाख, नारायणी तेल रिफाईनरी उद्योग १० लाख, कन्साई नेरोलेक जपान प्राइभेट लिमिटेड २ लाख र चाओबिरो फिड इन्डस्ट्रिज ५ लाख गरी २७ लाखको चेक मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका छन् ।
प्राप्त चेकहरु पूर्वघोषित ७० लाख मध्यकै रकम हो । बिहीबार प्राप्त २७ लाखको चेक र महानगरपालिकाले स्थापना गरेको १ करोडको कोष सहित कोरोना कोषमा अहिलेसम्म १ करोड ९९ लाख ६७ हजार ४ सय ७३ रुपैंया रकम जम्मा भएको महानगरपालिकाका प्रशासकीय अधिकृत विकास मिश्रले जानकारी दिनुभयो ।