×

वीरगञ्ज ३ असार । पर्साको विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्षले गाडी भाडा खर्च मात्रै महिनामा एक लाख बुझ्ने गरेकी छिन् । मासिक सुविधा शिर्षकमा तलबको रुपमा उपाध्यक्षले करिब ३० हजार रुपैयाँ मात्रै पाउने व्यवस्था छ ।

गाउँपालिका अध्यक्षको पनि मासिक सुविधा शिर्षकमा करिब ३५ हजार मात्रै पाउने व्यवस्था छ । यसबाहेक भत्ता बापत गाउँपालिकाले प्रतिदिन बैठक बसेको तथा भ्रमण गएको भए त्यस बापत पनि भत्ताको छुट्टै व्यवस्था मिलाएको हुन्छ ।

तर विन्दवासिनी गाउँपालिकाले भने उपाध्यक्षलाई आवत जावत गर्न मासिक एक लाख रुपैयाँमा गाडी भाडामा लिँदै आएको खुलेको छ ।

गाउँपालिकाले उपलब्ध गराएको सुविधा आफूले उपभोग गरेको उपाध्यक्ष किरण देवी गुप्ताले बताइन् । उनले गाडी भाडा बापत मात्रै मासिक एक लाख बुझ्दै आएकी छिन् ।

२०७४ असोज २ गते भएको चुनाबमा जित हात पार्दै उपाध्यक्ष बनेकी गुप्ताले त्यही वर्षको अन्त्यदेखि भाडाको गाडी चढ्दै आएकी छिन् । सुरु सुरुमा मोटरसाइकलबाटै आवत जावत गरेको भए पनि पछि आउन जानै समस्या आएको भन्दै उनले गाडीको माग गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष श्रीलाल साहले गाडी चढ्ने मैले नपाउने भन्दै उनले आवत जावतमै समस्या देखाएपछि भाडामै लिएर भए पनि गााडीको व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा महिनाको मुश्किलले ५/६ दिन मात्रै पुग्ने उपाध्यक्ष गुप्ताले गाडी भाडा बापत खर्च भने पुरै महिनाको लिने गरेकी छिन् । दिनको तीन हजारको दरले गाडी भाडामा लिने भनिएको भए पनि उपाध्यक्षले मासिक रुपमा एकमुस्ट १ लाख रुपैयाँ बुझ्ने गरेको गाउँपालिकाको लेखा शाखाको तथ्यांकले देखाउँछ ।

२०७४ को अन्तिमदेखि मासिक एक लाख बुझ्दै आएकी उपाध्यक्ष गुप्ताले अहिलेसम्मको अवधिमा झण्डै ३० लाखभन्दा बढी रकम बुझेको देखिन्छ ।

उपाध्यक्ष गुप्ताले भने गाउँपालिकाले आफूलाई आवतजावत गर्न भाडामा गाडी उपलब्ध गराएको बताउँछिन् ।

‘भाडा बापतको रुपैयाँ पनि मैले बुझ्ने होइन, सोझै गाडीवालाले लैजान्छ,’ उनले भनिन्, ‘अहिले मैले नै लिएको भनेर जुन तरिकाले विवाद निकालिएको छ त्यो विल्कुल गलत हो ।’

‘पछिल्लो छ महिनादेखि त गाडी भाडा पनि मैले आफै तिर्दै आएको छु, गाउँपालिकाले अहिलेसम्म दिएको छैन,’ उनले भनिन् । तर भाडाको लागि भने उनले पटक पटक ताकेता गरेको गाउँपालिकाका कर्मचारी बताउँछन् ।

मासिक एक लाख भाडामा गाडी चढेर जनप्रतिनिधि विलासी बनेको भन्दै बुधबार केहि विद्यार्थीहरुले गाउँपालिकामा बिरोध प्रदर्शन नै गरेका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाले लापरवाही गरेको, क्वारेन्टिन व्यवस्थित नगरेको, स्वास्थ्य सामाग्रीको व्यवस्थापन नगरेको, नागरिकलाई सास्ती दिएको लगायतका मुद्धा उठाउँदै विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधि यस्तो विषम परिस्थितीमा पनि भ्रष्टाचार र बिलासितामा रमाएर नागरिकको समस्या सुनुवाई नगरेको स्थानियको गुनासो छ ।

यस्तै विद्यार्थीहरुले गाउँपालिकाले १ हप्ताभित्र आर्थिक हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्न पनि समय दिएका छन् । साथै एक हप्ताभित्र पारदर्शीता नअपनाए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

Back to top