वीरगञ्ज २८ जेठ । समाजवादी युवा संघले कर मिनाहाकाे माग गर्दै वीरगञ्जका प्रदर्शन गरेकाे छ । काेराेना महामारीका बेला जनताका लागि राहत प्याकेज ल्याउने समयमा करका लागि सरकारले ताकेता गरेका कारण प्रदर्शन गरिएकाे हाे।
वीरगञ्जको घण्टाघरमा सामाजिक दुरी कायम गर्दै बुधबार सरकारको विरोध गरिएकाे हाे । लकडाउन अवधिभरको कर, बैंक ब्याज, बिजुलीको बिल, स्कुल तथा कलेजको शुल्क र घर भाडा मिनाहको माग गर्दै जनता समाजवादी पार्टी निकट संघका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेश २ लाई विशेष आर्थिक प्याकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुलभ रुपमा उपलब्ध गराउने गराऊ, आरटी पीसीआर किट पर्याप्त मात्रामा उपलब्ध गराऊ, विदेशमा फसेका नेपालीलाई अबिलम्ब उद्धारको व्यवस्था मिलाऊ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको युवा संघका नेता फिरोज मन्सुरले जानकारी दिए ।
सरकारले जनताको दुःख नबुझेका कारण सांकेतिक रुपमा विरोध गर्दै राज्यको ध्यानाकर्षण गराइएको संघका प्रदेश सदस्य शिव कुमार साहले बताए ।