×

वीरगन्ज २४ जेठ । भारतको कानपुरबाट उत्पादित बहुराष्ट्रिय ब्राण्ड ब्रिटानियाको बिस्कुटमा कीरा भेटिएको छ । ब्रिटानियाको ‘गुड डे कुकिज’ बिस्कुट खान लाग्दा किरा भेटिएको काठमाडौँका एक उपभोक्ताले बताएका छन् ।

लाजिम्पाट बस्ने एक ३५ वर्षीय व्यक्तिले भर्खरै पसलबाट किनेर उक्त बिस्कुट खान लाग्दा त्यसमा कीरा भेटिएको बताएका छन् । उनले बिस्कुट सडेको र त्यसमा कीरा रहेको भिडियो नै बनाएका छन् । गुड डेमा काजु मिलाइएकाे हुन्छ, जसकारण नेपालमा यसकाे मूल्य पनि महंगाे पर्छ ।

नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले बताएका छन् कि यसै साल फेब्रुअरी १८ तारिख उत्पादन मिति रहेको उक्त बिस्कुट खोलेर खान लाग्दा कीरा भेटिएको हो । बिस्कुटमा खान हुने अवधि एक वर्ष उल्लेख गरिएको पनि उनले बताए । म्याद १ वर्ष भनिए पनि प्याकिङ गरिएको तीन महिनामै बिस्कुट अखाद्य हुनुले नेपालमा बहुराष्ट्रिय ब्राण्डको नाममा ठगी भइरहेको उनको भनाइ छ ।

नेपालमा गुड डे बिस्कुटको आयातकर्ता र अधिकृत बिक्रेता विशाल ग्रुप रहेको छ । विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल हुन्, उनी केही दिनअघि मात्र जुवाको खालबाड रंगेहात समातिएका थिए । हाल उनीलगायत जुवाडेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भारत र नेपालमा फरक उपभोग मिति

बिस्कुटमा कीरा भेटिएको भिडियो प्राप्त भएपछि उक्त गुड डे बिस्कुटबारे बुझ्दै जाँदा नेपाल र भारतमा उपभोग मिति नै फरकफरक राखिएको भेटिइएको छ । सोही भारतमा भने उपभोग गर्न हुने अवधि ६ महिना छ । तर नेपालमा भने एक वर्ष लेखिएको बिस्कुटको खोलमै छ ।

यस तथ्यबाट उत्पादक संस्था र बिक्रेताले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको तथ्य उजागर भएको छ । यसरी दुई देशमा उपभोग्य मिति नै फरक राखेर बिक्री गर्नु कर्पोरेट नैतिकताविरुद्ध रहेको ती व्यक्तिले बताए ।

यसबारे गुड डे बिस्कुटका नेपालका वितरण व्यवस्थापक उदय श्रेष्ठलाई फोन गरेर गुनासो सुनाउँदा सुरुमा त्यस्तो हुनै नसक्ने बताएको तर पछि यदि बिस्कुटमा कीरा भेटिएको भए फिर्ता गर्नुस् भनेको पनि उनले सुनाए । साभार news24nepal.tv बाट

Back to top