वीरगञ्ज, जेठ १८ ( वीरगञ्जस्थित नारायणी अस्पतालमा आजबाट डायलासिस र ओपिडी सेवा शुरु हुने भएको छ ।
अस्पतालले आज एक प्रेस विज्ञप्ति निकाल्दै गत बैशाख २ गतेबाट अवरुद्ध भएको डायलासिस र ओपिडी सेवा आजबाट सुचारु हुने जानकारी गराएको हो ।
यस्तै, अस्पतालले बहिरंग सेवा पनि क्रमिक रुपमा सञ्चालिन गर्ने जनाएको छ । सामाजिक दुरी कायम गरी पहिला हरेक विभागमा बढीमा २५ बिरामी मात्रको उपचार गर्ने बहिरंग सेवा सन्चालन गरिने नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।
यस्तै, नारायणी अस्पताल कोभिडबाट साधारण अस्पतालमा परिणत नेपालकै पहिलो अस्पताल भएको भन्दै डा. उपाध्यायले संक्रमणबाट पूर्ण रुपमा सुरक्षित भएको प्रत्याभुति हुन आवश्यक पहल हुन जरुरी रहेको बताउनुभयो ।
अस्पतालमा साधारण सेवाहरु सन्चालनका लागि अहिले अझै पनि आवश्यक सरसफाई, निर्मलीकरण र अन्य आवश्यक कार्यहरु तीव्र रुपमा भइरहेको डा उपाध्यायले बताउनुभयो ।
यसर्थ, अस्पतालले प्रदान गर्ने अन्तरंग सेवा सुचारु हुन अझै केही दिन लाग्ने र आकस्मिक सेवा प्रदान गरे पश्चात भर्ती हुन भने अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको डा. उपाध्यायको भनाई छ ।