×

काठमाडौँ, जेठ १७ – दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकको कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ’ उनले भने,‘कोरोना परीक्षणका लागि स्वाव १५ गते नै लगिएको थियो ।

३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको नगर प्रमुख घनश्याम भण्डारीले बताए । ‘जेठ १५ गते उनको स्वाव परीक्षणका जुम्ला पठाएका थियौं ।’ उनले भने,‘परीक्षणमा उनको कोरोना संक्रमण भेटिएको छ ।’

कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिए । भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको दुल्लु नगरपालिकाले जनाएको छ ।

Back to top