×

जनकपुरधाम, जेठ १६ - सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई समेटन क्यान महासङ्घ धनुषाले माग गरेको छ ।

क्यान महासङ्घ धनुषाले शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाउँदै सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई पनि अत्यावश्यक क्षेत्रमा समावेश गर्न माग गरेको छ ।

ज्ञापनपत्रमा स्थानीय प्रशासनले सीमित उद्योगधन्दा सुचारु गर्ने निर्णय गरे पनि सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई सञ्चालन अनुमति नदिइएकोमा सरकारको ध्यानाकर्षण गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर बिक्रेता र सफ्टवेयर एवम् एप्लिकेसन निर्माता कम्पनीले सङ्कटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएको जनाउँदै महासङ्घले लकडाउनका कारण कर्मचारी तथा कामदारलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

क्यान महासङ्घ धनुषाका अध्यक्ष सञ्जय कुमार साहले प्रेषीत गर्नु भएको ज्ञापन पत्रमा सूचना प्रविधिका कारण लकडाउनको बेलामा सबैको पेशा ब्यवसाय सञ्चालन भएको स्मरण गराउदै यो क्षेत्रलाई अत्यावश्यक सेवाको परिभाषा भित्र पारेर यो क्षेत्रलाई खुला गर्न माग गर्नु भएको छ ।

Back to top