×

बारा १५ जेठ । जमातीमा गएका नेपाली युवालाई कोरोना फैलाउन आएको आरोपमा भारतले मुद्दा चलाउन लागेको त्यहाँ गएकाका परिवारले बताएका छन्।

मुस्लिम धार्मिक यात्रा (जमाती) मा बारा र रौतहटका २२ जना दिल्ली पुगेका र लकडाउनका कारण त्यहीँ रोकिएका छन्। कोरोना फैलाउन आफ्नो देशमा आएको भन्दै त्यहाँका प्रहरीले मुद्दा चलाउन लागेकाे भारत पुगेका निजगढका मियाँद आलमका दाजु लक्कीले बताए।

विराटनगरमा भएको धार्मिक कार्यक्रम सकेर फागुन ७ मा भारत पुगेका निजगढका दुई जनासहित २२ जना दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएका थिए । दूतावासले मागेको छ भन्दै भारतका सुरक्षाकर्मीले उनीहरुको नागरिकतासमेत लिएर राखेको छ।

मुद्दा दर्ता गराउन उनीहरुको परिचयपत्र तथा नागरिकता खोसिएको हुनसक्ने लक्कीले बताए। घरबाट तीन महिनाअघि त्यहाँ पुगेका उनीहरु दिल्लीको नजामुदिन मरकजमा बसेका थिए । त्यहाँ बसेकामा कोरोना संक्रमण देखिएपछि त्यहाँका सबैलाई दिल्ली सरकारले आपर्टमेन्टमा राखेको थियो। उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

तीन पटकको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएको बताइएको छ। अपार्टमेन्टमा राखेको ६४ दिन बितिसकेको र अन्यत्रका जमातीलाई घर फर्किन दिए पनि उनीहरुलाई अझै निस्कन नदिएको टेलिफोनमार्फत आफूलाई जानकारी गराइएको लक्कीले बताए। विभिन्न देशका एक सय जनालाई अपार्टमेन्टमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो।

‘दूतावासले बेवास्ता गर्‍यो’

उनीहरुलाई अपार्टमेन्टमा राखेको बारेमा भारतस्थित नेपाल दूतावास जानकार भए पनि घर फर्काउन पहल नगरेको लक्कीले बताए। घर फर्काउन प्रबन्ध मिलाउँछौं भनी फर्किएका दूतावासका कर्मचारी सम्पर्कविहीन भएका उनले गुनासो गरे। रेल सेवा सञ्चालन गरेपछि भारतीयहरु घर फर्किसकेका छन् ।

उनीहरु बस रिजर्भ गरेर फर्किने योजना बनाइरहेका थिए। तर अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्दा भारतीय सरकारलाई जानकारी नगराएको भन्दै मुद्दा चलाइदिने धम्की दिएका लक्कीले रुँदै सुनाए। अपार्टमेन्टमा खाना खुवाउँदै आए पनि अहिले भने उनीहरुलाई बेवास्ता गरिएको बुझिएको छ। साभार thahakhabar.com बाट

Back to top