वीरगन्ज, १५ जेठ । वीरगन्ज नेशनल मेडिकल कलेजमा मृगौलारोगीको डायलोसिस गराउने क्रममा मृत्यु भएका ६ जनाका परिवारले जिल्ला प्रशासन कार्यालयसमक्ष कलेजमाथि कारबाई गर्न निवेदन दिएका छन् ।
वीरगन्ज नारायणी अस्पताल कोभिड १९ अस्पतालमा परिणत भएपछि त्यहाँका चालीसजना डायलोसिस गराइरहेका बिरामीलाई वीरगन्ज नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएको थियो । सो क्रममा एक महिनामा ६ जनाको मृत्यु भएको हो ।
नेशनल मेडिकल कलेजले डायलोसिसमा प्राथमिकता नदिएको कारण उपचार अभावमा मृत्यु भएको मृतकका परिवारजनको आरोप छ । ६ जनाका परिवारले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत विनय श्रीवास्तवलाई निवेदन दिंदै कारबाईको माग गरेका हुन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबीन गरेर दोषीलाई कानूनी दायरामा ल्याएर कारबाई गर्न माग गरेका छन् । पीडितहरूको निवेदन बुझ्दै शाखा अधिकृत श्रीवास्तवले छानबीन गर्ने आश्वासन दिएका थिए ।