वीरगञ्ज - पर्साको बिन्दवासिनी गाउँपालिकामा रहेको क्वारेन्टाइन व्यस्थित नभएको गुनासो आएको छ । गाउँपालिकाले वडा नं. ३ झौवागुठिस्थित श्री राम स्वारुप रामप्रित चौरसिया माध्यमिक विद्यालयलाई आस्थायी क्वारेन्टाइनका रुपमा प्रयोग गर्दै आएको छ ।
कोरोनाभाइरस रोकथामका लागि बाहिरबाट आएकाहरुका लागि बनाइएको क्वारेन्टाइनमा खान, बस्न, साफ सफाई र सौचालयको उचित व्यास्थापन नभएको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले गुनासो गरेका हुन् । क्वारेन्टाइनमा हाल १ महिला सहित २९ बस्दै आएका छन् ।
क्वारेन्टाइनमा समयमा खाना उपलब्ध नहुने, सफा सफाई नहुने र पानी समेतको उचित व्यस्थापन नभएको क्वारेन्टाइनमा रहेका एक व्यक्तिले बताए । 'बिहानको खाजाको नाममा कालो चिया मात्र दिन्छन र खाना १०-११ बजे तिर दिनेगरेका छन्, त्यसको मात्रा एकदमै कम र अस्वास्थ्यकर हुन्छ,' क्वारेन्टाइनमा रहेका एक व्यक्तिले भने, 'दिउँसो खाजाको नाममा झोलामा राखेर थोरै चाना भुजा दिनेगरेका छन् र राति दिउँसो जस्तै खानै नसक्ने खाना ।'
उनले क्वारेन्टाइनमा सौचालयको व्यस्थापन नहुँदा आफुहरु खुल्लामा गएर दिसा पिसाव बाध्य भएको बताए । 'सौचालय त् छदै छैन, खुल्लामा जानु पर्छ, उनले भने, खुल्लामा यस्तो क्वारेन्टाइनमा बस्नु भन्दा त् राम्रो हामी आफ्नो घर भित्रै बस्थियों । उनले आफुहरु बस्ने ठाउँ समेत नियमित सरसफाई नहुने गुनासो गरे । क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परिक्षण गर्न अहिले सम्म कुनै स्वास्थ्यकर्मी समेत नाएको उनले बताए ।
यता बिन्दबासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह (मोदी) ले क्वारेन्टाइनमा कुनै समस्या नभएको दावी गरे । उनले क्वारेन्टाइन व्यस्थापनमा आफुहरुले कुनै कमि नगरेको बताए । 'क्वारेन्टाइनमा व्यस्थापनमा हामीले कुनै कमि गरेका छैनौँ,' मोदीले भने, 'विपक्षीहरुले मलाई परेसान गर्न यो सब षड्यन्त्र गरेका हुन्, हामीले नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टाइनको व्यस्थापन गरेका छौं ।' मोदीले हाल गाउँपालिकामा एक मात्र क्वारेन्टाइन रहेको जानकारी गराउँदै छिट्टै अर्को क्वारेन्टाइनको व्यस्थापन गरिने बताए ।