×

वीरगञ्ज १५ जेठ । १३ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन् ।

योसंगै प्रदेश २ मा रिहा हुनेको संख्या १२ पुगेको छ । प्रदेश २ को सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना र महोत्तरी कारागारबाट २ जना गरी जम्मा १२ जना कैदी गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।

वीरगञ्ज कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान, दस्तखत किर्ते, बन पैदावार र अङ्गभङ्ग मुद्दामा एक-एक जना गरी सात जनाको रिहा गरिएको छ ।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरुको रिहा गरिएको पर्सा कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताए ।

रिहा हुनेमा असल चाल चलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकार प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दा बाहेकका कैदीहरुलाई रिहा गरिएको उनले बताए ।

रिहा भएका कैदीहरुलाई अबिर टिका लगाई विदाई गर्दै कारागार प्रमुखले समाजिक करणको प्रकृयामा सफलता मिलोस् र कुनैपनि अपराधिक गतिविधिमा संलग्न नहोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।

यता वीरगञ्ज कारागारभित्र कोरोना भाइरस संक्रमणको त्रास बढेको कैदीबन्दीले बताएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट रिहा भएका ७ जना कैदीबन्दीले जेलभित्र अरु भन्दा कोरोना भाइरसको बढी डर रहेको बताए ।

अंगभंग मुद्धामा १५ महिना २ दिन जेल बसेर माफी पाएपछि छुटेका बाराका मकरध्वजप्रसाद साहले भने ‘जेलमा अरु कुनै किसिमको समस्या छैन, तर कोरोनाको त्रास भने बाहिर र भित्र उस्तै छ ।’

Back to top