×

वीरगञ्ज, जेठ १४ - सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै क्यान महासङ्घ पर्साले दु:ख व्यक्त गरेको छ ।

क्यान महासङ्घ पर्साले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सालाई ईमेल मार्फत ज्ञापन पत्र बुझाउँदै सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई पनि अत्याव्श्यक क्षेत्रमा समावेश गर्न माग गरेको छ ।ज्ञापनपत्रमा स्थानीय प्रशासनले सीमित उद्योगधन्दा सुचारु गर्ने निर्णय गरे पनि सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई सञ्चालन अनुमति नदिइएकोमा सरकारको ध्यानाकर्षण गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर बिक्रेता र सफ्टवेयर एवम् एप्लिकेसन निर्माता कम्पनीले सङ्कटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएको जनाउँदै महासङ्घले लकडाउनका कारण कर्मचारी तथा कामदारलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

"सबै क्षेत्र ठप्प रहेको लकडाउनको यस समयमा औषधिउपचार पछि सबैभन्दा महत्वपूर्ण क्षेत्र कुनै छ भने त्यो सूचना प्रविधि क्षेत्र हो । अहिलेको अवस्थामा आममानिसहरुले टेलिफोन र इन्टरनेटको प्रयोग गरि स्वदेश तथा विदेशमा रहेका आफ्ना आफन्तसँग कुरा गर्ने देखि समाचार, सूचना समेत प्राप्त गर्ने गरेका छन् । त्यसैगरि आज सूचना प्रविधिको माध्यमले अनलाईन बैङ्किग सेवा लिनेदिने गरेका छन्, बस्तु खरिद विक्री गर्ने गरेका छन्," क्यान महासङ्घ पर्साका अध्यक्ष दीपक साहले हस्ताक्षर गरेक ज्ञापन उल्लेख गरिएको छ, "अहिलेको यस भिषम परिस्थितिमा समेत सूचनाप्रविधिले शिक्षाको पहुँचबाट बालबालिका बञ्चित हुनदिएको छैन भने घरबाटै अधिकतम कार्य गर्न सहयोग पुर्‍याएको छ ।"

साहले सूचनाप्रविधि क्षेत्रको यति महत्व हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा यो क्षेत्र नपर्नु दुःखद र विडम्बनापुर्वक भएको जनाएका छन् । उनले यो क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा नयाँ सेवा तथा सामग्री आपूर्ति तथा मर्मतमा आम उपभोक्ताले समस्या भोग्नु परेको जनाएका छन् ।

साहले छिमेकी मुलुक भारतलगयात अन्य मुलुकहरुमा अन्य क्षेत्र झैँ सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर खुल्ला गरिएको उनले उल्लेख गरेका छन् । उनले अन्तराष्ट्रिय स्तरमा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक क्षेत्र अन्तर्गत सूचित गरिरहँदा नेपाल सरकारले सूचना प्रविधिको महत्व नबुझी यस क्षेत्रलाई प्राथमिकतामा नराखेको हुँदा यस क्षेत्रमा संलग्न सम्पूर्ण व्यवसायी एवम् क्यान महासंसङ्घ दःखित भएको बताए ।

क्यान महासङ्घ प्रदेश नं. २ ले प्रदेशका हरेक जिल्लामा यसैगरि ज्ञापन पत्र बुझाउने प्रदेश अध्यक्ष आलोककुमार चौरसियाले जनाए ।

Back to top