जनकपुरधाम, जेठ १४ - देउतालाई खुसी पार्न धनुषामा अपहरणपछि एक बालकको बली चढाई हत्या गरेको अनुसन्धानबाट खुलेको छ। आफूलाई ‘धामी’ बताउने स्थानी य शत्रुधन महतोले मिथिला नगरपालिका–६ का शम्भु साहका अढाइ वर्षीय छोरा आर्यन भन्ने समिर साहको हत्या गरेका हुन्। हत्यामा संलग्न साहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।
महतोलाई बुधबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए। उनकाअनुसार बालकलाई हत्या गर्ने बेला महतोले लगाएको गन्जी, गम्छा र धोती बरामद गरिएको छ।
तन्त्रमन्त्र गरी शक्तिशाली धामी बन्न महतोले घाँटी रेटी निर्ममता साथ बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार गत वैशाख २३ गते आफ्नै घरअगाडि खेलिरहेका बालक आर्यनलाई महतोले अपहरण गरी रातभर आफ्नै घरमा बन्धक बनाएर राखेका थिए।
वैशाख २४ गते राति बलीका नाममा बालकको हत्या गरेपछि महतोले घरपछाडिको झाडीमा शव फालेका थिए। वैशाख २५ गते बिहान स्थानीयले शव देखेका थिए। जिल्ला प्रहरीले प्रदेश ३ प्रहरी कार्यालय हेटौडासँग समन्वय गरी विशेषज्ञ टोली बोलाएर घटनास्थलको अनुसन्धानसमेत गरेको थियो।
मृतक बालकका हजुरबुवा पिताम्बर साह हलुवाइले पक्राउ परेका महतोविरुद्घ अपहरण तथा बन्धक बनाई ज्यान मारेको कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्। महतोलाई प्रहरीले अदालतबाट पहिलो पटक सातदिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।