×

वीरगञ्ज, जेठ ४ - पर्सा जिल्लाबाट निर्वाचित सांसद् द्वय प्रदीप यादव र लक्षमणलाल कर्णले पर्सा जिल्लाको लागि कोरोना सङ्कटको सामना गर्नका लागि बिशेष प्याकेजको माग गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् यादव र क्षेत्र ४ बाट निर्वाचित सांसद् कर्णले आइतवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेंटेर आफ्नो माग राखेका हुन ।

सरकारको तर्फबाट कोरोना सम्बन्धमा संयोजनको भुमिकामा हरेका संघीय सरकारका उपप्रधानमन्त्री पोखरेलले वीरगञ्ज मुलुक मै सबभन्दा बढी जोखिमको क्षेत्र भएकोले त्यहाँ चाहिने साधनस्रोत अबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता दिएको सांसद् यादवले बताए ।

वीरगञ्जमा ठुलो आकारको बृहद र सुबिधासम्पन्न छुट्टै कोरोना अस्पताल बैकल्पिक रुपमा सुरु गर्ने, पिसिआर परिक्षणको दायरा बढाउनका लागि आवश्यक किट पर्याप्त सङ्ख्यामा उपलब्ध गराउन, अस्पताल भर्ना हुने सङ्क्रमितहरुको उपचार, खाना तथा अन्य सुबिधा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा अबिलम्ब सुरु गराउन र वीरगञ्जमा जारी लकडाउन र निषेधाज्ञाले यहाँको जनजीवन कष्टकर बनेकोले उचित व्यवस्थापन गर्न लगायतका माग सांसद् द्वयले राखेका थिए ।

माग उपर सुनुवाइ गर्दै उपप्रधानमन्त्री पोखरेलले तत्कालै यसमा सकारात्मक पहल गर्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री पोखरेलले तत्कालै वीरगञ्ज नेशनल मेडिकल कलेजका सञ्चालक महमद बसरुद्दीन अन्सारीलाई टेलीफोन गरी उक्त अस्पताललाई कोडिड–१९ अस्पताल बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

त्यसतै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई समेत उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिदै यसको लागि आवश्यक प्रबन्ध गर्न भनेका थिए ।

वीरगञ्जको नारायणी अस्पतालमा सरकारले अहिलेसम्म कोभिड अस्पताल सञ्चालन गरे पनि त्यसको क्षमताभन्दा बढी सङ्क्रमित फेला परेका कारण यहाँ व्यवस्थापनमा चुनौति भएको छ ।

वीरगञ्ज महानगरपालिकामार्फत एउटा निजी अस्पताल थप रुपमा सञ्चालनमा ल्याउन तयारी गरिए पनि त्यो पर्याप्त नभएकोले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनुको विकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलसँगको छलफलको निष्कर्ष रहेको सांसद् यादवले बताए । त्यसतै किट लगायत आवश्यक सामग्री आपुर्तीको लागि पनि उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालय लगायतलाई निर्देशन दिएका छन् ।

Back to top