वीरगञ्ज, जेठ ४ - वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा भईरहेको ढिलासुस्ती र अनियमितता विरुद्ध यहाँका युवाहरु एकताबद्ध भएका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालबाट एक अपिल पत्र जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तह र प्रशासनले अविलम्ब कार्यान्वयन गर्नुपर्ने ६ बुँदे सुझाव जारी गरेका छन् ।
विभिन्न पेशा तथा व्यवसायमा आबद्ध यस क्षेत्रका ३० जना युवाहरुको सक्रियतामा जारी गरिएको अपिल पत्रमा संक्रमणको हटस्पट बन्दै गएको वीरगञ्जमा उपचारका संयन्त्र निकै कमजोर भएको उल्लेख गरिएको छ ।
आइसोलेसनमा कोरोना सङ्क्रमितहरुलाई दिने खाना देखि सङ्क्रमित बस्ने वार्ड र प्रयोग गर्ने शौचालय लगायत सरसफाईमा अस्पताल प्रशासन चुकेको युवा अपिल पत्रमा दाबी गरिएको छ ।
जिल्लामा वीरगञ्ज लगायत विभिन्न स्थानीय तहहरुमा कोरोनाभाइरसका सङ्क्रमित भेटिएको अवस्थामा समेत कन्ट्याक ट्रेसिंग र टेस्टिंगको दायरा बढाउनुको सट्टा अस्पतालबाट भाग्ने बिरामीलाई गोली हान्ने अपरिपक्व निर्णय गरि स्थानिय प्रशासनले गैर जिम्मेवार रवैया प्रस्तुत गरेको अपिलकर्ताहरुको भनाई छ ।
अपिलकर्ताहरुले पर्साको कोरोनाभाइरससँगको युद्दको बागडोर वीरगञ्ज महानगरपालिकालाई दिने, जिल्ला प्रशासन र अरु सुरक्षा संयन्त्रहरुले स्थानीय सरकारले तयार पारेको नीति र कार्य योजना कार्यान्वयनमा सहयोग गर्ने, वीरगञ्जका निजि अस्पतालहरुलाई आइसोलेसन वार्डको बेवास्था गर्न निर्देशन दिएर कडा कदम चाल्ने लगायतका बुँदाहरु अपिल पत्रमा समावेश गरिएका छन् ।