वीरगञ्ज, जेठ १ – वीरगञ्ज महानगरपालिकाले बहुअरीमा रहेको गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन आवश्यक तयारी अघि बढाएको छ ।
महानगर र अस्पतालबीच कोभिड अस्पताल बनाउने विषयमा सम्झौता भएको महिना दिन पुग्न लाग्दा बल्ल तयारी अघि बढेको हो ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयले मंगलबार महानगरलाई कोविड अस्पताल संचालन गर्ने अधिकार दिएसँगै वीरगञ्ज महानगरपालिकाले सम्झौता अनुरुप बिहीबार गण्डक अस्पतालको निरीक्षण गरेको छ ।
मन्त्रालयले वीरगञ्जको नारायणी अस्पतालको व्यस्थापन र वीरगञ्ज महानगरको आर्थिक र भौतिक दायित्वमा सम्झौता गरेअनुसार कोभिड अस्पताल संचालनका लागि निर्देशन दिएको थियो ।
महानगरका मेयर बिजय सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्याय लगायतको टोलीले गण्डक अस्पतालको निरीक्षण गर्दै आवश्यक तयारी अघि बढाएको हो ।
वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा कोरोना विशेष अस्पतालको आवश्यकता खड्किँदै गएपछि सम्झौता अनुरुप गण्डक अस्पतालमा संक्रमितको उपचार गर्ने ब्यवस्था मिलाउन लागिएको मेयर सरावगीले जानकारी दिए ।
गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने भएपछि त्यहाँ उपचार गराइरहेका विरामीलाई भने अन्यत्र ब्यवस्थापन गर्न लागिएको छ । अस्पतालमा अहिले १२ जनालाई भर्ना गरेर उपचार गरिरहेको र उनीहरुलाई अन्यत्र ब्यवस्थापन गरेर अस्पताल महानगरको जिम्मा लगाउन लागिएको अस्पतालका संचालक रहबर अन्सारीले बताए ।
अस्पताललाई अहिले डिस्इन्फेक्टेड गर्ने काम भइरहेको र आजै महानगरलाई बुझाइने पनि अन्सारीले जनाए ।
वीरगञ्ज महानगरपालिकालाई कोभिड अस्पताल संचालनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री राहत कोषबाटसमेत आर्थिक सहयोग गर्ने प्रतिवद्धता दिएको नेकपा नेता एवं पूर्व सभासद बिचारी यादवले जानकारी दिए ।
बिहीबार नेता यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रृदेश त्रिपाठीलाई उहाँकै कार्यकक्षमा गएर भेट गर्दै वीरगञ्जमा कोरोना भाइरसको संक्रमणको अवस्था र कोभिड अस्पतालका बिषयमा भइरहेको राजनीतिको बारेमा जानकारी गराएका थियो ।
मन्त्री त्रिपाठीले वीरगञ्ज महानगरका मेयर सरावगीलाई फोन गरेर कोभिड अस्पताल संचालनका लागि स्रोतको अभाव हुन नदिने कुरामा विश्वस्त रही नागरिकको सुरक्षाका लागि काम अघि बढ्न सुझाव दिएका छन् ।
साथै मन्त्री त्रिपाठीले महानगर प्रमुख सरावगीले कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा खेलेको भूमिका र कार्य प्रति प्रशंसा व्यक्त गर्दै बजेट प्रस्तावना पठाएमा त्यस अनुरुपको बजेट निकासमा आफूले सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
महानगरले अब वीरगञ्जलगायत यस आसपासमा भेटिने संक्रमितलाई गण्डक अस्पतालमा उपचारको लागि राख्ने छ । गण्डकमा ५० बेडको आइशोलेशन वार्ड बनाएर संक्रमित बिरामी राखिने छ ।
अहिले नारायणी अस्पतालको अलावा सिद्धार्थ स्कुलमा संक्रमितलाई राखिएको छ ।