वीरगञ्ज, जेठ १ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको सूचनामा त्रुटि देखिएको छ ।
धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले दिएको सूचना गलत पाइएको हो ।
धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि गएको मंगलबार नै मन्त्रालयले सार्वजनिक गरेको थियो ।
मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ति निकालेको थियो । आज बिहान भने संक्रमितको जिल्लाको स्थानीय तहको ठेगाना र उमेरसमेत खुलाएर पुनः सूचना निकालेको छ ।
जसमा धनुषा, महोत्तरी र सर्लाहीमा फेला परेका कोरोना संक्रमितको उमेर मात्र हेर्दा मन्त्रायले गरेको त्रुटि प्रष्ट हुन्छ ।
यसरी हेर्दा बिहीबार बिहान २ जना मात्रै नयाँ संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यसप्रकारको गल्तीको चौतर्फी आलोचना सुरू भइरहेको छ ।
समाजिक सञ्जालमा निहालराज सिंहले प्रश्न गर्दै लेखेका छन्, ‘गणना गर्न नसक्ने मन्त्रालयले कसरी कोरोनालाई रोक्न सक्ला ?’