वीरगञ्ज, बैशाख ३० - वीरगञ्जमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा मंगलबार साँझ सडक पार गरिरहेका व्यक्तिलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोहि वडाका निवासी ५५ वर्षिय घनश्याम कायस्थ रहेका छन् । कायस्थको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।
कायस्थका भतिजा चन्दन श्रीवास्तवले साँझ करिब साढे ७ बजेको समयमा दोकानबाट केहि सामान खरिद गरेर सडक पार गरिरहेको बेला ना. ६ ख २३७२ नं. को ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको बताए । उनले कायस्थको नेसनल मेडिकल कलेजको आपतकालीन शाखामा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।
यता दुर्घटना पछि ट्रक चालक फरार रहेपनि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा लागेको छ । तर, कायस्थको मृत्यु पछि अस्पताल र प्रहरीले मृतकको शवलाई पोस्ट्मार्टमका लागि नारायणी लाग्न परिवारलाई भनेपछि परिवारका सदस्य अलमलमा परेका छन् ।
वीरगञ्जमा मंगलबार ह्वातै ३९ वटा कोरोना संक्रमित भेटिपछि नारायणी अस्पतालमा जान नसकिने परिवारका सदस्यले बताएपनि अस्पताल प्रशासन र प्रहरीले जिद्दी गरेर उनीहरुलाई शव पोस्ट्मार्टमका लागि नारायणी अस्पताल लाग्न दवाव दिएका छन् ।
'काकाको मृत्युले हामी दु:खि छौं, घरमा हामी बच्चाहरु मात्र छौं, आमा र काकीलाई पनि सन्चो छैन, श्रीवास्तवले भने, 'यस्तो अवस्थामा उहाँको शवलाई लिएर कसरि जाने? त्यसमाथि पनि कोरोनाभाइरस लाग्ने डर छ ।'
श्रीवास्तवले आफुहरुले अस्पताल प्रशासनलाई आज रातिको लागि मात्र शवलाई राख्न दिए भोलि बिहानै पोस्ट्मार्टमका लागि नारायणी लाग्ने बताए ।