वीरगञ्ज : पर्सा जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण व्यापक बढ्न थालेपछि स्थानिय प्रशासनले जिल्लामा मंगलबार (आज) राती ८ बजेदेखि जेष्ट ५ गते राती १२ बजेसम्म निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जिल्लामा निषेधाज्ञा (कर्फ्यू) लागू गरेको निर्णय गरेको हो ।
संक्रमण रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरिएको जिल्लाका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
निषेधाज्ञा अवधीभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिहरु घरबाहिर ननिस्ने आहवान गरिएको छ । त्यसैगरी जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपाली, दुध, विद्युत, दमकल, संचार, भंसार, आईसीपि, क्वारेन्टाईन, फोहरमैला व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसायी सेवा संचालन बन्द गर्ने जनाईएको छ ।