वीरगञ्ज - पर्सा प्रहरीले पछिल्लो एक सातामा यहाँका ४ जना पत्रकारलाई नियन्त्रणमा लियो । आइतबार दिउँसो मात्रै नयाँ पत्रिका दैनिकका पर्सा सम्वाददाता तिवारी यादवलाई नियन्त्रणमा लिएपछि पछिल्लो एकसातामा प्रहरीले नियन्त्रणमा लिएको पत्रकारको संख्या ४ पुगेको हो ।
यादव वीरगंजकै सामुदायिक रेडियो नारायणी एफ.एम.मा पनि कार्यरत छन् । रेडियोमा डिउटीमै रहेका बेला रेडियो अघिल्तिरबाट प्रहरीले यादवलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो ।
एफएम स्टेशन प्रवेश गर्ने छेउकै सडकपेटीमा त्यहाँ कार्यरत पत्रकारहरुले आफ्नो सवारी साधन पार्किङ गर्नु पर्ने बाध्यता छ । यादवले पनि सडक पेटीमै मोटरसाईकल पार्किङ गरेका थिए । सडक पेटीमा मोटरसाईकल पार्किङ गरेको निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरीले भ्यानमा हालेर लगेको हो ।
यादवले आफू पत्रकार रहेको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले जबर्जस्ति भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालय पुर्यायो । जिल्ला प्रहरी कार्यालयमा पुर्याए पनि प्रहरीले यादवलाई बाहिर ननिकालि एक घण्टाभन्दा बढी समय भ्यानमा नै थुनेर राख्यो ।
पत्रकार यादव पक्राउ परेको खबर फैलिएसँगै सामाजिक सञ्जालमा पर्सा प्रहरी विरुद्ध विभिन्न खाले प्रतिकृया आउन थालेको छ । केहीले पर्सा प्रहरीको ज्यादती बढेको भनेका छन् भने केहीले प्रहरीले आफूलाई मात्रै फ्रन्टलाईन ठान्छ कि के हो भन्दै प्रश्न गरेका छन् ।
पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीलाई प्रहरीले अनायासै दुख दिन थालेको भन्दै यसको शसक्त प्रतिकार गर्ने बताउनुभयो । यस अघि शनिबार साँझमात्रै तीन जना पत्रकारलाई प्रहरीले छाडेको थियो ।
सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको भन्दै पर्सा प्रहरीले नेपाल टेलिभिजनका पर्सा सम्बाददाता नेहाल खान, सगरमाथा टेलिभिजनका सम्वाददाताद्वय मोहम्मद सद्दाम र आविदे हुसेनलाई नियन्त्रणमा लिएको थियो ।
तीनै जनालाई चार दिनसम्म दिनभर जिल्ला प्रहरी कार्यालयमा राख्ने र साँझ घर जान दिने गरेको थियो । कुनै मुद्धा पनि नचलाई चार दिनसम्म तारेखमा धाउन लगाएर तीनै जनालाई पर्सा प्रहरीले दुःख दिने मनसायले नियन्त्रणमा राखेको थियो । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले तीनै जनालाई आवश्यक सोधपुछका लागि मात्रै नियन्त्रणमा लिएको प्रतिकृया दिएकी थिइन् ।