वीरगंज, २८ वैशाख । अति आवश्यक सामान ढुवानीको नाममा वीरगंजका ट्रान्सर्पोट व्यवसायीहरूले तस्करीका सामान विनाबिलबिजक ढुवानी गर्ने गरेको समाचार प्राप्त भएको छ ।
लकडाउनमा स्थानीय प्रशासनले अति आवश्यक सामान ढुवानी गर्ने निर्णय गरेपछि व्यापारीहरूले तस्करी गरी नेपाल भित्रीयाएका सामानहरू विनाबिलबिजक नेपालका विभिन्न शहरमा पठाउने गरेको पाइएको छ । आर्थिक प्रलोभनमा पर्सा प्रहरीले अवैध सामान ढुवानी सहजसमेत बनाएको छ ।
पर्सा प्रहरीले आफूलाई केही थाहा नभएको दाबी गर्दै आएको छ । तर समाचार स्रोतका अनुसार अति आवश्यक सामान ढुवानीको नाममा तस्करीका सामान ढुुवानी गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सवारीपाससमेत दिने गरेको पाइएको छ ।
भारतबाट चोर नाकाबाट आएका इलेक्टोनिक सामान, कपडा, खाद्य पदार्थ, गाडीका पाट्र्स, पानमसालालगायतका सामानहरू ढुवानी व्यवसायीहरूले नेपालका विभिन्न शहरमा पठाउने गरका छन् ।
पर्सा प्रहरीले सामान ढुवानीमा सहजता ल्याएपछि व्यापारीहरूले भ्याट बिलसमेत नकाटी सामान्य बिलको आधारमा सामानहरू पठाउने गरेको स्रोतले जानकारी दिएको छ । त्यतिमात्र हैन, यस्तो कार्यमा सशस्त्र प्रहरीको राजस्व गुल्म तथा क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैया पनि संलग्न रहेको पाइएको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सवारीपास लिनेहरूले अति आवश्यक सामान मात्र ढुवानी गर्दै आएको दाबी गरे । वीरगंजबाट अहिले दैनिक सयभन्दा बढी ट्रक अवैध सामान ढुवानीमा संलग्न रहेको पाइएको छ । साभार prateekdaily.com