वीरगञ्ज, बैशाख २७ – वीरगञ्जस्थति नारायणी अस्पतालमा पुन: जनरल सेवा सञ्चालन हुने भएकाे छ । वीरगञ्जको बहुवारीस्थित गण्डक अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेर नारायणी अस्पतालको जनरल सेवा सुरु गर्ने लागिएको हो ।
नारायणी अस्पतालमा रहेका कोरोन सङ्क्रमितहरुलाई भोलि सम्म गण्डक अस्पतालमा सिफ्ट गरेर नारायणी अस्पतालको जनरल सेवा पुन: सुरु गर्ने निर्णय भएको महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।
वीरगञ्ज महानगरपालिका कार्यालयमा शनिबार मेयर सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरटेण्डेण्ट डा. मदन उपाध्याय र स्वास्थ्य मन्त्रलयबाट आएको टोलिसँग भएको बैठकले नारायणी अस्पतालको जनरल सेवा पुन: सूचारु गरि गण्डकलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
शनिबार भएको बैठकले नारायणीमा अस्पताललाई डिसिन्फ़ेक्ट गरेर भोलि पर्सि सम्म जनरल सेवा सुरु गर्ने निर्णय गरेको मेयर सरावगीले बताए । 'नारायणी अस्पतालमा रहेका सङ्क्रमितलाई भोलि सम्म गण्डकमा सिफ्ट गरेर पहिला नारायणी अस्पताललाई पूर्ण रुपले डीसइन्फ़ेक्ट गर्ने छौँ अनि एकदुई दिनमा जनरल सेवा पुन: सुरु हुनेछ ।' मेयर सरावगीले भने ।
नारायणी अस्पतालको प्राबिधिक ब्यवस्थापन र नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरपालिकाका पच्चीस-पच्चीस प्रतिशत जनशक्ति रहने र नारायणी अस्पतालकाे ५० प्रतिशत जनशक्ति गरी गण्डक अस्पतालमा काेविड सङ्क्रमितकाे उपचारकाे व्यवस्था गर्ने निर्णय पनि भएकाे मेयर सरावगीले भने ।
यसकाे संयाेजनकाे जिम्मा भने वीरगञ्ज महनगरले लिने निर्णय भएकाे महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिए ।
गण्डक अस्पतालमा २ सय बेड क्षमताकाे आइसोलेशन सेन्टर स्थापनाकाे काम अघि बढ्ने पनि उनले बताए । महानगरपालिकामा भएकाे बैठकमा स्वास्थ्य मन्त्रालयबाट आएका सचिव डा.पाेखरेल, डा.रवीन्द्र कुमार ठाकुर, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायलगायतकाे सहभागिता रहेकाे थियाे ।
वीरगञ्जमा कोरोना सङ्क्रमण देखिएपछि नारायणी अस्पताललाई सरकारले लेभल २ को कोरोना अस्पताल घोषणा गरेको थियो । कोरोनाको उपचार सुरुभए देखि सेवाग्राही चर्को शुल्क तिरेर निजि अस्पताल जान बाध्य भएका थिए भने उपचार नपाएर केहि व्यक्तिले ज्यान समेत गुमाउनु परेको खबर आएको थियो ।
तर मेयर सरावगीले पटक-पटक प्रयास गर्दा समेत नारायणीको जनरल सेवा सुरु गर्न सकिएको थिएन । वीरगञ्ज महानगरपालिकाले लगभग ३ हफ्ता अगाडि गण्डक हस्पिटलसँग कोरोन अस्पताल सुरु गर्ने बारे सम्झौता समेत गरेको थियो तर स्वास्थ्य मन्त्रालयले अनुमति नदिँदा त्यो सम्झौता कार्यन्वयन भने हुनसकेको थिएन ।