×

वीरगन्ज २७ बैशाख । वीरगंजवासी तथा वारा, पर्साका जनताको हित भन्दा पनि व्यक्तिगत स्वार्थको राजनीति गर्ने नेताहरुको कारण वीरगंजलामो समय देखि पछाडी पर्दै आएको छ । अहिले नारायणी अस्पतालबाट कोरोना अस्पताल अन्यत्र सारी त्यहा अवरुद्ध भएको सेवा पुनः संचालन गर्ने विषयलाई लिएर वीरगंजमा ठुलै राजनैतिक चलखेल भएको छ । नेताहरुको जुंगाको लडाईले वीरगंज थलिएको छ ।

वीरगंज–१४ बहुअरीमा रहेको गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय आज सम्म नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले गण्डक अस्पतालाई नारायणीकै शाखा अस्पतालको रुपमा संचालन गर्नेे निर्णय नभएको जानकारी दिनुभयो ।

दुई दिन अघि पर्साका नेकपाका नेताहरुले स्वास्थय तथा जनसख्यामन्त्री भानुभक्त ढकालसंग भेटेर वीरगंज महानगरको प्रयासमा वीरगंजको कोभिड अस्पतालको रुपमा गण्डक अस्पताललाई मन्त्री स्तरीय निर्णय भएको दावी गरेका थिए । त्यसपछि वीरगंजमा नारायणी अस्पताल अब जनरल सेवा दिने अस्पतालमै फर्किएको र नारायणीकै शाखाको रुपमा गण्डक अस्पताललार्ई कोभिड बनाउने बारे राजनीतिक बहस चलेको थियो ।

अहिले पनि नेकपाका नेताहरुले बिना आधिकारिक पत्र बेगर मिडियामा नारायणी अस्पताल जनरल अस्पताल बनेको र गण्डक अस्थायी कोभिड अस्पताल बनेको दावी गर्दै आएका छन् ।

नारायणी अस्पताल जनरल अस्पताल बन्नु पर्ने माग सहित काठमाण्डौ पुगेका पूर्ब सभासद विचारी यादवले वीरगंजमा छुटै कोभिड अस्पताल बनाउन मन्त्रालयका सचिव रोशन पोखरेलको नेतृत्वको टोली वीरगंज आउने र यो टोलीको प्रतिवेदनको आधारमा सरकार अगाडी बढने बताउनु भयो । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले महानगरसंग सम्झौता गरेको गण्डक अस्पताल कोभिड नबनोस भनी केही शक्ति लागेको दावी गर्नु भयो ।

नारायणी अस्पतालका मेसु डा. मदनुकुमार उपाध्यायले नारायणीलाई सारेर जनरल र गण्डक हस्पिटललाई कोभिड बनाउने बारे मन्त्रालयको कुनै आधिकारिक पत्र वा मौखिक जानकारी नआएको बताउनु भयो । पर्साका नेताहरु जनताको पिर मर्का भन्दा पनि व्यक्तिगत स्वार्थको लाभहानीमा आधारित राजनीतिमा रमाउँदा सधै उनिहरुकै कारण वीरगंजवासीले पिडा खेप्दै आएका छन् ।

यस पटक पनि नेताहरुकै खिचातानीको कारण बीरगंजको नारायणी अस्पताल पुनः जनरल अस्पताल बन्ने र छुटै कोरोना अस्पतालको कुरा कुइरोको काग बन्न पुगेको छ ।

Back to top